बागलुङमा ३८ वनमा आगलागी  : १५ वनको आगो नियन्त्रण बाहिर

केन्द्रभाग मिडिया

File photo

बागलुङ । बागलुङमा ३८ वनमा आगलागी भएको छ । आगलागी भएका वनहरुमध्ये १५ वनको आगो नियन्त्रण बाहिर रहेको डिभिजन वन कार्यालय बागलुङले जानकारी दिएको छ ।

बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक वनमा गत फागुनको ९ गते भीषण आगलागी भएको थियो । त्यसभन्दा अगाडि जिल्लाको कुनै पनि वनमा आगलागी भएको थिएन ।

त्यसयता गलकोट नगरपालिकाका एक दर्जन वनमा आगो सल्कियो । एक सातापछि उक्त आगो नियन्त्रणमा आयो । त्यसलगत्तै ताराखोला, ढोरपाटन र निसीखोला गाउँपालिकाको दुई दर्जन बढी वनमा आगलागी भइसकेको छ । दिनप्रति दिन आगलागी हुँदै गएपछि थुप्रै वन जङ्गल रित्तिएका छन् । आगलागीले वन्यजन्तु तितरवितर बनेका छन् ।

आगलागीका कारण हालसम्म मानवीय क्षति भने भएको छैन । करिब एक दर्जन गोठ र पशुचौपाया जलेको डिभिजन वन कार्यालय बागलुङले जनाएको छ । फागुनदेखि हालसम्म ३८ वटा सामुदायिक वनमा आगलागी भएको डिभिजन वन कार्यालय बागलुङकी सूचना अधिकारी लक्ष्मी केसीको भनाइ छ ।

उनका अनुसार निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा लागेको आगो अहिले पनि नियन्त्रण बाहिर छ । आगो नियन्त्रणका लागि कर्मचारीसहित स्थानीय खटिएको उनको भनाइ छ । अहिले १५ वटा सामुदायिक वनमा लागेको आगो नियन्त्रण बाहिर रहेको छ । हालसम्म एक हजार दुई सय हेक्टरभन्दा बढी जङ्गलमा आगलागी भएको उनको भनाइ छ ।

  • ११ बैशाख २०८१, मंगलवार १३:५७ प्रकाशित