कतारका राजालाई ‘अति विशिष्ट सुरक्षा’ : राजाको सवारीमा यसरी खटिनेछन् सुरक्षाकर्मी

केन्द्रभाग मिडिया

काठमाडौं ।

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणको सुरक्षा नेतृत्व नेपाली सेनाले गर्ने भएको छ ।

विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि, २०७५ मा व्यवस्था भए बमोजिम सेनाको नेतृत्वमा कतारका राजालाई अति विशिष्ट स्तर (क श्रेणी) को सुरक्षा प्रदान गर्न लागिएको हो ।

विगतमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत नेपाल भ्रमणका बेला पनि यही तहको सुरक्षा प्रबन्ध बनाइएको थियो । यसअनुसार विशिष्ट व्यक्तिको क्लोज सेक्युरिटीमा सेनाको पार्श्ववर्ती र अति विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालयबाट टोली खटिनेछ ।

बाहिरी सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग खटिनेछ । कतारका राजा अमिर शेखको सडकमा सवारीका बेला सबैभन्दा अग्रभागमा प्रहरी वार्निङ मोटरसाइकल, प्रहरीको अगुवा जीप, १८ जना आउट राइडर्स, विशिष्ट व्यक्ति, विशिष्ट व्यक्तिको पछुवा कार, फेरि आउट राइडर्स र जगेडा कार समेत रहने छ ।

आपतकालीन अवस्थाका लागि एम्बुलेन्स, प्रहरी जीप, पछुवा कार पनि उनको सवारीका बेला साथमै रहनेछन् । सेनाका स्नाइपरदेखि बम डिस्पोजल टोली पनि तैनाथ रहनेछन् ।

प्रहरीबाट उनको सवारीका बेला उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापा आफैं खटिनेछन् भने सशस्त्र प्रहरी बलले उपत्यका हेर्ने पशुपतिप्रसाद बाहिनीका प्रमुख डीआईजी पुरुषोत्तम थापालाई खटाउँदैछ । सूचना संकलनका लागि राष्ट्रिय अनुसन्धान विभागको टोली पनि खटिनेछ ।

यसका अतिरिक्त नेपालस्थित कतारी दूतावासले परराष्ट्र मन्त्रालयसँग समन्वयमा छुट्टै सुरक्षा टोली पनि खटाउनेछ ।

  • ११ बैशाख २०८१, मंगलवार ०९:०९ प्रकाशित