गुल्मी ।
शनिबार एकै दिन गुल्मी जिल्लाका १३ ठाउँमा आगलागी भएको छ। आगलागीबाट ८३ घरगोठ जलेका छन् भने ७५ पशु चौपाया मरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।
त्यस्तै एउटा ट्याक्टर, दुईवटा कुटानीपिसानी मिल, दुईवटा किराना पसल, एउटा मन्दिर पनि जलेको प्रहरीले जनाएको छ । आगलागीबाट २ जना मानिस र ७ पशुचौपाया पनि घाइते भएका छन् ।
जिल्लाको इस्मा गाउँपालिका-२ हाडीखोला, वडा नम्बर ४ को कोटकोटरी र मुर्किना, गुल्मीदरबार गाउँपालिका-६ भलायचौर, मुसिकोट नगरपालिका-५ आँपचौर र अर्लाङ्कोटमा शनिबार आगलागी भएको थियो ।
त्यस्तै मालिका गाउँपालिका-१ म्यालचौर, मदाने गाउँपालिका-१ घडेरी, छत्रकोट गाउँपालिका-१ हुँगा, धुर्कोट गाउँपालिका-६ कुरमचाल्ने, वडा नम्बर ४ रातापोखरा र रुरुक्षेत्र गाउँपालिका- १ भटकुवामा पनि शनिबार नै आगलागी भएको थियो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पोखरेलका अनुसार इस्माको सिदुङ्खा, कोटकोटरी र हाडीखोलामा आगलागीले बढी क्षति पुर्याएको छ ।
सिदुङ्खामा मात्र १३ घर र २५ वटा गोठ गरी ३८ घरगोठ जलेका छन् । घरगोठ जलेपछि स्थानीय बासिन्दा खुला आकाशमुनि बस्न बाध्य छन् ।
आगलागीका कारण गुल्मी गाउँपालिका-२ मा खानेपानीको पाइप पनि जलेको छ । त्यसैले अहिले बस्तीमा पानीको अभाव भएको स्थानीय बासिन्दाले बताएका छन् ।













