पोखरा ।
प्रदेश प्रमुख डिल्लीराज भट्टले आह्वान गरेको प्रदेश सभा अधिवेशन आज बस्दैँछ ।
आज (शुक्रबार) दिउँसो ३ बजे प्रदेश सभा भवन नदीपुरमा बैठक बस्नेछ । मन्त्रीपरिषद् बैठकको सिफारिसमा विशेष अधिवेशन डाकिएको हो । मंगलबारको मन्त्रीपरिषद् बैठकले अधिवेशन आह्वानको निर्णय गरेकोे थियो ।
प्रदेश प्रमुख भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा (१) अनुसार अधिवेशन आह्वान गरेका छन् । फागुन २४ गते तत्कालिन प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गरेका थिए ।
फागुन २३ मा तत्कालिन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई नेकपा माओवादी केन्द्रले दिएको समर्थन फिर्ता लिएपछि प्रदेशको हिउँदे अधिवेशन अन्त्यको सिफारिस भएको थियो । अल्पमतमा परेका पाण्डेले विश्वासको मत नलिइकन चैत २१ मा राजनीमा दिएका हुन् ।
संसदको अधिवशेन आह्वान भएपछि मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मतका लागि प्रदेश सभामा प्रस्ताव पेश गर्ने तयारी गरेका छन् । मुख्यमन्त्री अधिकारी सर्वोच्च अदालतको सुनवाई अघि नै विश्वासको मत लिने तयारीमा जुटेका थिए ।
प्रदेश सभाका सभामुखलाईसमेत गणना गर्दैै मुख्यमन्त्रीमा दाबी पेश गरेका अधिकारीलाई प्रदेश प्रमुखले नियुत्त गरेपछि नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डे चैत २७ गते सर्वोच्च अदालत गएका थिए ।
सर्वोच्चले रिट दायर गरेको भोलिपल्ट मुख्यमन्त्री अधिकारी नेतृत्वको सरकारलाई दीर्घकालिन असर पर्ने काम नगर्न आदेश दिएको छ । रिटको पेशी बैशाख १० गतेलाई तोकिएको छ ।
यता गण्डकी प्रदेश सभा आह्वानविरुद्ध नेपाली कांग्रेसले सर्वोच्चमा अवहेलना मुद्दा दर्ता गर्ने तयारी गरेको छ । गण्डकी प्रदेश सरकारले संसद बैठक बोलाउनु अदालतको अवहेलना भएको कांग्रेसको निष्कर्ष छ ।
यसैबीच मुख्यमन्त्री खगराज अधिकारीले सर्वोच्चको आदेश उल्लङ्घन गरेर अधिवेशन आह्वान गरेको भन्दै कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले गण्डकी प्रदेशसभा बैठक बहिष्कार गर्ने भएका छन् ।
प्रदेशसभा बैठकमा उपस्थित नहुने तयारी दुवै पार्टीको रहेको जनाइएको छ । कांग्रेसले बैठकअघि साढे १० बजे संसदीय दलको बैठक आह्वान गरेको छ ।