विराटनगर ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सचिवालयमा पेस गरेको सङ्कल्प प्रस्तावको पक्षमा मतदान गर्न एमालेले आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ । एमालेको संसदीय दलको आज बसेको बैठकले यस्तो ह्विप जारी गरेको हो ।
बुधबार दलहरूबिच भएको सहमति र कार्यव्यवस्था परामर्श समितिको छलफलपछि एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी प्रस्तावक, माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र एमालेका प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल समर्थक रहेको परिमार्जित प्रस्ताव आजको प्रदेशसभामा पेस हुँदैछ ।
वैशाख ३ गते दर्ता भएको सङ्कल्प प्रस्तावमा केही परिमार्जन गर्न मनासिब देखिएको हुँदा परिमार्जित सङ्कल्प प्रस्ताव प्रदेशसभा सचिवालयमा पेस भएको नयाँ प्रस्तावमा उल्लेख छ ।
परिमार्जन गरी पेस गरिएको परिमार्जित सङ्कल्प प्रस्तावलाई प्रदेशसभाको बैठकमा पेस गर्न अनुरोध गरिएको छ । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ्गले एमाले र माओवादीका सांसदको माग बमोजिम प्रदेशसभाको अधिवेशन बोलाएका हुन् ।
परिमार्जित सङ्कल्प प्रस्तावमा चैत्र ‘२६ को मितिले संविधानको धारा १८८ को उपधारा २ बमोजिम प्रदेश सभाको बैठकमा आफूमाथि विश्वास छ भन्ने प्रस्ताव राखी विश्वासको मत लिन प्रदेशसभाको बैठकबाट माननीय मुख्यमन्त्री ज्यूलाई निर्देशन गरियोस्’ भन्ने उल्लेख छ । मुख्यमन्त्रीलाई दिएको समर्थन बहुमत सांसदले फिर्ता लिइसकेको अवस्थामा सरकारको नियमित कार्यबाहेक दीर्घकालीन महत्वका कुनै निर्णय नगर्न नगराउन प्रदेश सरकार र सरकार सम्बद्ध अधिकारीलाई प्रदेशसभाको बैठकबाट निर्देशन गरियोस् भन्नेसमेत उल्लेख छ ।