पोखरा ।
मोरिया टोल, भैरव टोल, गणेश टोल, भीमसेन टोल र रामकृष्ण टोललाई पोखराको पुरानो व्यापारिक केन्द्रका रूपमा चिनिन्छ । पोखरामा व्यवसायको प्रारम्भ र नगर सभ्यता विस्तारको सुरुवात यहीँबाट भएको विश्वास गरिन्छ ।
यहीँबाट विकास भएको पोखरा अहिले देशकै पर्यटकीय राजधानी घोषणा भइसकेको छ । संगै यहाँका पर्यटकीय क्षेत्रहरुको संरक्षण, सम्बद्र्धन र विकास गर्नुपर्ने दायित्व समेत बढेको छ । यही दायित्वलाई महसुस गरेर उक्त क्षेत्रलाई पर्यटकीय हव बनाउनेगरी योजना अगाडि बढाएको पोखरा महानगरका प्रमुख धनराज आचार्यले बताए ।
पोखरा-४ का वडाध्यक्ष देवकृष्ण पराजुली आफू निर्वाचित भएर आएपछि नै यसको संरक्षणका लागि लागिपरेको बताउँछन् । य:मरी महोत्सव गर्नेदेखि विस्केट जात्रा लगायतका जात्रालाई महानगर र वडाले पोत्साहित गरेको र सहयोग पनि गरेको उनले बताए । भैरव नृत्यलाई महानगरस्तरमै फैलाइएको भन्दै उनले यसका लागि स्वयम महानगरले नै अपनत्व लिएर प्रदर्शनी गराएको उनले सम्झिए ।
सिद्धार्थ चोकदेखि रामकृष्ण टोल, गणेशटोल र नालामुखसम्म यस वर्ष घरहरु मर्मतसंहार गर्ने र पुरानै कलात्मक रुपमा सजाउने काम गरिने उनले बताए । महानगरबाट पुराना घर मर्मतका लागि चालु आर्थिक वर्षमा डेढ करोड रुपैयाँ छुट्याइएको उनले जानकारी दिए । यसलाई क्रमस विन्ध्यवासिनी हुँदै बागबजारसम्म नै बजारको ऐतिहासिकता झल्काउने गरी काम हुने उनले बताए । ‘महानगरले यस वर्ष डेढ करोड रुपैयाँ छुट्याएको छ । त्यसलाई उपयोग गर्छौं । त्यसपछि क्रमस परियोजना पनि अगाडि बढ्ला । विस्तारै बागबजारसम्म नै विकास गर्ने हो’ वडाध्यक्ष पराजुलीले भने ।
सम्पदा संरक्षणका अभियान्ता एवं नागरिक समाज कास्कीका पूर्व संयोजक रामबहादुर पौडेलले यस्ता सम्पदाको संरक्षण र उजागरमा सरकार र स्थानीय सबैले हातेमालो गर्नुपर्ने बताउँछन् । उनले गनुपर्छ भन्दापनि किन गरिएन भनेर झक्झकाउनुपर्ने धरणा लाखे ।
आफूहरुले महानगर र सम्बन्धित निकायलाई बेलाबखत झक्झक्याउने काम गरेको उनले सुनाए । ‘हामीकहाँ यसो गनुपर्छ भन्ने, तर त्यसका लागि पहल नगर्ने प्रवृत्ति छ । रामकृष्ण टोल देखि मोहरिया टोल हुँदै विन्ध्यवासिनी र बागबजार सम्म नै सम्पदाहरु छन् । यसलाई संरक्षण गर्न बोलेर भन्दापनि व्यवहारमै सम्बन्धित निकायलाई झक्झक्याउनुपर्छ भन्ने लाग्छ । हामीले झक्झक्याउने काम गरेका छौं । सकारात्मक जवाफ पनि पाएका छौं । आशा छ यसलाई महानगरले भनेअनुरुप अगाडि बढाउने छ ।
यस्तो छ पृष्ठभूमी
कवि एवं संस्कृतिविद् तीर्थ श्रेष्ठ यहीँबाट पोखराको नगर सभ्यता प्रारम्भ भएको बताउँछन् । नगर सभ्यता प्रारम्भ भएको यस क्षेत्रमा अहिले पनि त्यसवेलाको झल्को दिने पुराना घर र मठ–मन्दिर छन् । उचित संरक्षण र प्रचार–प्रसार अभावमा पोखराको पुरानो कला र संस्कृति मात्र होइन, एउटा इतिहास नै लोप हुने अवस्थामा पुगेको श्रेष्ठ बताउँछन् । यी सभ्यता र कलासंस्कृतिलाई जोगाउनुपर्नेमा श्रेष्ठको जोड छ ।
संस्कृतिविद् अष्टमान प्रधानांगका अनुसार १८२५ सालमा पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकामा आक्रमण गरेपछि तितरवितर भएका नेवार समुदाय पोखराका यी क्षेत्रमा आएर बसोवास गर्न थालेका थिए । उनीहरूसँगै काठमाडौं उपत्यकाको कला र संस्कृति पोखरा भित्रिएको उनको भनाइ छ ।
पोखरामा अहिले पनि १९२० सालमा बनेका पुराना कला र संस्कृति झल्काउने घर छन् । मोरिया टोल, भैरव टोल, गणेश टोल, भीमसेन टोल, रामकृष्ण टोल, तेस्रापट्टी र साँघुको मुखलगायत स्थानका यस्ता घर मर्मत नहुँदा परम्परागत कला र संस्कृति लोप नै हुने अवस्थामा छन् ।
भक्तपुरको शैलीमा संरक्षण गर्न सुझाब
पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्षसमेत रहेका नेवाःखल कास्कीका अध्यक्ष अशोक पालिखे यस क्षेत्रलाई भक्तपुरकै शैलीमा विकास गर्नुपर्नेमा सुझाब दिन्छन् ।
नेवाःखल कास्कीले भवन बनाउँदा परम्परागत कला–संस्कृति झल्कने कलात्मक वस्तु प्रयोग गरेको छ । उनका अनुसार दुई सय ५० देखि तीन सय वर्ष पुराना सामग्रीसमेत यहाँ संगृहीत छन् । दुई सय ६ वर्ष पुरानो गाग्री, रणबहादुर शाहका पालाको पाथीलगायत सामग्री त्यहाँ संग्रहीत रहेको उनले जानकारी दिए ।
अध्यक्ष पालिखेले पोखरा महानगरका यस्ता ऐतिहासिक स्थललाई भक्तपुरको शैलीमा विकास र संरक्षण गर्न आग्रह गरे । ‘भक्तपुरमा पुरानो शैलीमा घर बनाउन छुट दिइन्छ, करमा त्यस्तै छुट छ, त्यस्तै नीति महानगरले लिए यहाँ पनि संरक्षण हुन्छ,’ उनले भने ।
अहिलेका महानगर प्रमुख धनराज आचार्यले यसको विकासका लागि प्रयास गरेको देखिएको तर परिणाम भने आइनसकेको उनले बताए । ‘अहिलेको मेयरसापले यसलाई सम्पदा स्थलको रुपमा विकास गर्न लागि परेको पाउँछु । तर परिणाम भने देखिन पाएको छैन’ उनले भने ।
डिपिआर तयारीको क्रममा छौं, पर्यटकीय हवको रुपमा विकास हुन्छ : प्रमुख आचार्य
पोखरा महानगरका प्रमुख धनराज आचार्यले पुरानो पोखरा र सभ्यताको झल्को दिनेगरी उक्त क्षेत्रको विकास गरिने बताए । दीगो पर्यटन विकासका लागि एडीवी (एसियाली विकास बैंक) संग साढे ७ अर्बको परियोजना नै सम्झौता गरेको बताएका उनले त्यस मध्यको एउटा महत्वपूर्ण परियोजना उक्त स्थलको विकास रहने उनले प्रष्ट्याएका छन् ।
उक्त स्थलको विस्तृत परियोजना (डिपिआर) निर्माणका लागि कन्सल्टेन चयनका लागि आवेदन मागिइसकेको जानकारी प्रमुख आचार्यले बताए । तत्कालको लागि चालु आर्थिक वर्षमा महानगरले आफ्नै पैसाले पुराना घरहरुको मर्मतसंहार गर्ने योजना पुरा गर्ने उनको भनाई छ ।
उनका अनुसार उक्त क्षेत्रलाई नो भेइकल जोन घोषणा गरिनेछ । परियोजनाले पूर्णता पाउँदा त्यहाँ सवारी निषेध गरिनेछ । बाटामा पुरै ढुंगा छापिएका हुनेछन् । घरहरुको अग्रभागलाई परम्परागत शैलीमा ढालिनेछ ।
रैैथाने खानाका परिकारहरु पस्कने स्थल बन्नेछ । पुरानो भेषभुषाको प्रदर्शनी गरिनुका साथै पोखराको घुम्नै पर्ने सूचीमा समावेश हुनेछ । मौलिक र सांस्कृतिक जात्राहरुको सके दैनिक नभए निस्चित दिन तोकेर प्रदर्शन गरिनेछन् । समग्र पर्यटकीय राजधानीको पनि एतिहासिक पृष्ठभूमिको महत्वपूण हव उक्त स्थल बन्ने प्रमुख आचार्यले योजना सुनाए । उक्त स्थल भोलिका दिनमा पर्यटकीय चहलपहल युक्त बन्ने र व्यवसायिक दृष्टिकोणले समेत महत्वपूर्ण हुने उनको ठम्याइ छ ।
ऐतिहासिक र सांस्कृतिक आधार
पुराना कला–संस्कृति झल्कने घर मात्र होइन, यस क्षेत्रमा नगर सभ्यताको प्रारम्भसँगै निर्मित प्रसिद्ध धार्मिकस्थल विन्ध्यवासिनी मन्दिर, भीमसेन, भैरभ, गोपालजी मन्दिर र गणेश मन्दिर छन् । अहिलेसम्म पनि जीवित संस्कृति गठेमंगल, तायामचा नृत्य, लाखेनाच, भैरवजात्रा, गणेशजात्रा, माघेजात्रा, विष्केट जात्रा लगायत जात्रा सो स्थललाई नै आधार बनाएर हुन्छन् । यसको उचित प्रचार–प्रसार गर्ने हो भने सांस्कृतिक र धार्मिक पर्यटकको भिड लाग्ने विज्ञहरूको दाबी छ ।
संस्कृतिविद् प्रधानांगका अनुसार विशेष पर्व र अवसरमा निकालिने यस्ता जात्राबारे प्रचार गर्न सक्ने हो भने पनि धेरै पर्यटक यहाँ आउन र बुझ्न सक्नेछन् । पोखरामा ऐतिहासिक देवीनाच भने लोप भइसकेको छ ।