गलेश्वर ।
हिमालपारिको जिल्ला मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शन गर्न आउनेको सङ्ख्या बढेसँगै लेक लागेर ज्यान गुमाउनेको सङ्ख्या पनि बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आर्थिक वर्ष २०७८–७९ देखि २०८०–८१ को चैत मसान्तसम्म लेक लागेर २९ जनाको ज्यान गएको छ ।
चालु आवको असोजदेखि चैतसम्म मात्रै मुस्ताङ घुम्न आएका ११ जनाले लेक लागेर ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा सातजना भारतीय, तीनजना नेपाली तीर्थयात्री र एक युक्रेनी पर्यटक रहेका जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले जानकारी दिए ।
उनका अनुसार आव २०७८–७९ मा पाँच महिला र एक पुरुष गरेर ६ जनाको लेक लागेर ज्यान गएको थियो । उनीहरू सबै भारतीय नागरिक थिए भने उनीहरूको ४५ देखि ७३ वर्षसम्मको उमेर समूहका रहेका प्रहरीले जनाएको छ । उनीहरूलाई मुक्तिनाथ, जोमसोम एयरपोर्ट, जोमसोम र धिमीठाँटी भन्ने स्थानमा लेक लागेको थियो ।
आव २०७९–८० मा पनि पाँच महिला र सात पुरुष गरेर १२ जनाको ज्यान गएको थियो । मृतकमध्ये सात भारतका, एक थाइल्यान्डका र चारजना नेपाली थिए । उनीहरूको उमेर ४२ देखि ७५ वर्षसम्म रहेको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए । प्रहरी अभिलेखअनुसार उनीहरूलाई मार्फा, मेसोकान्दो हिमाल, मुक्तिनाथ मन्दिर परिसर, घरपझोङ, एयरपोर्ट, यारालगायत स्थानमा लेक लागेको थियो ।
प्रहरीका अनुसार चालु आवको चैतसम्म लेक लागेरै ११ जनाको ज्यान गइसकेको छ । असोजमा तीन, फागुनमा दुई र चैतमा छ जनाको ज्यान गएको प्रनाउ पाण्डेले जानकारी दिए । उनका अनुसार मृतकमध्ये पाँच महिला र छ जना पुरुष रहेका छन् । उनीहरु ३५ देखि ८३ वर्षसम्मको उमेर रहेका छन् । मृतकमध्ये एक युक्रेनी, तीन नेपाली र आठजना भारतीय रहेका छन् । उनीहरूलाई थासाङ, झोङ, लेते, मार्फा, मुक्तिनाथ, जोमसोम, टुकुचेलगायत स्थानमा लेक लागेको जनाइएको छ ।
गत चैतमा मात्र ६ जना तीर्थयात्रु÷पर्यटकको मुस्ताङमा लेक लागेर ज्यान गएको छ । अभिलेखअनुसार गत वर्ष मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शन गर्न आएका १२ जनाको लेक लागेर ज्यान गएको थियो ।













