पोखरा ।
एसिसी प्रिमियर कपमा नेपालले लगातार चौथो जित निकालेको छ । प्रतियोगिताको समूह चरणमा नेपाल अपराजित रह्यो। बुधबार ओमानको अल अमरतमा भएको खेलमा साउदी अरबलार्ई नेपालले ६ विकेटले पराजित गरेको हो । यसअघि नेपालले समूहमा मलेसिया, कतार र हङकङलाई पराजित गरेको थियो ।
साउदीले दिएको ७४ रनको लक्ष्य नेपालले ४ बल खेल्न बाँकी छदा ४ विकेट गुमाएर पार गर्यो । नेपालका लागि गुल्सन झाले नटआउट ३२ रन बनाए । उनले १९ बलमा २ चौका र २ छक्का हिर्काए । कप्तान रोहितकुमार पौडेलले ७ बलमा १ चौका र १ छक्काको मद्दतमा नटआउट १६ रन बनाए ।
त्यसअघि ओपनरद्वय कुशल भुर्तेल शून्य र आसिफ शेख २ रनमा आउट भए। कुशल मल्ल २ रनमै आउट भएका थिए । दीपेन्द्रसिंह ऐरीले ९ बलमा ३ चौका प्रहार गर्दै १७ रन जोडे ।
वर्षाका कारण मैदान हिलो हुँदा ८ ओभरमा झारिएको खेलमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको साउदीले ७ विकेटको क्षतिमा ७३ जोड्यो । साउदीका लागि अब्दुल वाहीदले सबैभन्दा बढि ३७ रन जोडे। उनले १६ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । अरु ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बलिङमा नेपालका करण केसी र अभिनास बोहराले २-२ विकेट लिए । ललित राजवंशी र प्रतिश जिसीले १-१ विकेट हात पारे । नेपाल एक खेल बाँकी छँदै समूह विजेता बनेको थियो ।
नेपालसँग पराजित भएपछि साउदी भने बाहिरिएको छ। नेपालको जितले समूह हङकङ समूह उपविजेता बनेर अन्तिम चारमा पुग्यो। समूहमा नेपालले ८ अंक जोड्दा हङकङ र कतारले ४-४ अंक जोडे। रनरेटमा हङकङ अघि रह्यो । साउदी र मलेसियाले २-२ अंक मात्र जोड्न सके।
१० टिम सहभागी कपको आयोजक ओमान समूह ‘बी’ मा छ। समूहमा ओमानसहित युएई, कुवेत, बहराइन र कम्बोडिया छन्। आज समूह ुबीु मा ओमान र कुवेत तथा युएई र कम्बोडिया भिड्दैछन्। अन्तिम खेलअघि शीर्ष स्थानको ओमानको ६ अंक छ। दोस्रो स्थानको कुवेत र तेस्रो स्थानको युएईको ४-४ अंक छ।
नेपालले समूह ‘बी’ उपविजेतासँग अन्तिम चारमा भिड्नेछ । सेमिफाइनल ७ वैशाखमा र फाइनल ९ वैशाखमा हुनेछ।