पोखरा ।
पोखरा महानगरपालिकाका इन्जिनियर शिव बराल पक्राउ परेका छन् । नगरपालिकाबाट घर निर्माण सम्पन्नको प्रमाणपत्र दिने क्रममा इन्जिनियरले घुस लिएको प्रकरणमा इन्जिनियर बराल पक्राउ परेका हुन् । पोखरा महानगरका घरनक्सा शाखाका इन्जिनियर बराललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले मंगलबार पक्राउ गरेको हो ।
गत चैत २८ गते घर निर्माणको घर नक्सा प्रमाणपत्र दिने क्रममा सब इन्जिनियर उषाकिरण रोकाया र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई अख्तियारले यसअघि नै पक्राउ गरेको थियो । उनीहरु १ लाख ५० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका थिए ।
त्यही प्रकरणमा मंगलबार साँझ बराललाई पनि पक्राउ गरी अख्तियारको केन्द्रीय कार्यालय टंगाल पठाइएको सूचना अधिकारी जगदिश शिवाकोटीले जानकारी दिए । उनीहरुले यही एउटै काममा पनि पटक पटक घुस लिएको खुलेको छ ।
चैत २८ गते सवइन्जिनियर रोकायालाई पोखरा ५, मालेपाटनबाट र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरजलाई पोखरा–४ सेल्वेजबाट पक्राउ गरिएको थियो ।
घुससहित पक्राउ परेकी सबइन्जिनियर रोकायालाई महानगरले निलम्बन गरिसकेको छ ।