काठमाडौँ ।
एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा बुधबार नेपालले साउदी अरेबियासँग समूहगत चरणको अन्तिम खेल खेल्दै छ । नेपाल र साउदी अरेबियाबिचको खेल नेपाली समय अनुसार, बिहान ११ः४५ बजे सुरु हुनेछ ।
बुधबार नै समूह ‘ए’ को अर्को खेलमा मलेसिया र हङ्कङबिच खेलिने छ । त्यो खेल पनि बिहान ११ः४५ बजे नै सुरु हुनेछ । नेपाली टोली यसअघि नै समूह विजेताका रूपमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने निश्चित भइसकेको छ ।
नेपाल जारी प्रतियोगितामा यसअघि आफूले खेलेका तीनवटै खेलमा विजयी भएको छ । नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले, दोस्रो खेलमा कतारलाई ३२ रनले र तेस्रो खेलमा हङ्कङलाई आठ विकेटले हराएको थियो ।
नेपाल ६ अंकसहित तालिकाको पहिलो स्थानमा छ । चार खेलबाट चार अंक बटुलेको कतार दोस्रो स्थानमा आसीन छ । तीन खेलबाट दुई अंक बटुलेको साउदी अरेबिया तेस्रो, तीन खेलबाट दुई अंक जोडेको मलेसिया चौथो र तीन खेलबाट दुई अंक हात पारेको हङ्कङ पाँचौँ स्थानमा छन् ।
प्रतियोगिता अन्तर्गत समूह ‘बी’ को लिग चरणको खेल पनि बुधबार नै सकिने छ । समूह ‘बी’ को बुधबार हुने खेलमा संयुक्त अरब इमिरेट्स ९यूएई० ले कम्बोडियाको र ओमानले कुवेतको सामना गर्नेछन् ।
समूहगत चरणको समाप्तिपछि दुवै समूहबाट दुई–दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । दुवै सेमिफाइनल खेल अप्रिल १९ तारिखमा खेलिने छ । सेमिफाइनलमा विजयी हुने टोली फाइनलमा पुग्नेछन् भने पराजित दुई टोलीबिच अप्रिल २० तारिखमा तेस्रो स्थानका लागि खेल हुनेछ । फाइनल खेल अप्रिल २१ तारिखमा खेलिने छ ।