राष्ट्रिय सभा अध्यक्ष दाहाल र कोरियन संसदीय टोलीबिच भेट

केन्द्रभाग मिडिया

काठमाडौँ ।

राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपाल भ्रमणमा रहेको गणतन्त्र कोरियाको संसदीय प्रतिनिधि मण्डलले शिष्टाचार भेटवार्ता गरेको छ ।

सिंहदरबारस्थित राष्ट्रिय सभा अध्यक्षको कार्यकक्षमा मंगलबार गणतन्त्र कोरियाको राष्ट्रिय सभाको संस्कृति, खेलकुद तथा पर्यटन समितिका अध्यक्ष एवं कोरिया–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष साङ–हेओन ली नेतृत्वको भ्रमण टोलीले शिष्टाचार भेट गरेको हो ।

भेटमा नेपाल–कोरिया कूटनीतिक सम्बन्ध, संसदीय अनुभव आदान प्रदान र आपसी सहयोगका विषयमा छलफल भएको छ । सो अवसरमा राष्ट्रिय सभाका अध्यक्ष दाहालले नेपाल–कोरिया कूटनीतिक सम्बन्धको ५० वर्ष पूरा भइसकेको चर्चा गर्दै अहिलेसम्मको सौहार्द र मैत्री सम्बन्धलाई अझैं उँचाइमा पुर्‍याउन आगामी दिनमा संसदीय अनुभव आदान प्रदान, आपसी सहयोग र सहकार्य विस्तार गर्दै लैजानु पर्नेमा जोड दिए ।

नेपालको सङ्घीय संसद्ले नेपाल–कोरिया संसदीय मैत्री समूह गठन गरेको जानकारी दिँदै अध्यक्ष दाहालले दुई देशको संसदीय अभ्यास र अनुभव आदान प्रदान गर्न र असल अभ्यासहरू अनुसरण गर्न दुवै देशका संसद्को आपसी सहकार्य र सहयोग हुनुपर्नेमा समेत जोड दिएको दाहालको सचिवालयले जनाएको छ ।

  • ४ बैशाख २०८१, मंगलवार १५:१५ प्रकाशित