पोखरा ।
एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार तेस्रो जित निकालेको छ । नेपालले सोमबार सम्पन्न आफ्नो तेस्रो खेलमा हङङलाई आठ विकेटले पराजित गरेको हो ।
टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले हङङलाई १७.५ ओभरमा अलआउट गर्दै एक सय १४ रनमा समेटेको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १२.२ ओभरमा केवल दुई विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको हो । वर्षाका कारण निर्धारित समयभन्दा ढिलो सुरु भएकाले खेल १८–१८ ओभरमा झारिएको थियो ।
यसअघि नेपाली टोलीले आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो । नेपाली टोली ६ अंकसहित समूह ए’ तालिकाको पहिलो स्थानमा आसिन छ ।