पोखरा ।
ओमानमा जारी एसिसी प्रिमियर कप अन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल हङकङसँग खेल्दैछ । ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा नेपाली समयअनुसार बिहान ११ः४५ बजेदेखि नेपाल र हङकङबीचको खेल सुरू हुनेछ । कपको साविक विजेता समेत रहेको नेपाल आज लगातार तेस्रो जितको खोजीमा हुनेछ ।
नेपाल अघिल्लो दुई खेलमा विजयी भएको थियो । पहिलो खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको थियो । शनिबार भएको दोस्रो खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गरेको थियो । दोस्रो खेलमै नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले कीर्तिमानी ब्याटिङ गरेका थिए । दीपेन्द्रले अन्तिम ६ बलमा ६ छक्का प्रहार गरेका थिए।
जसका कारण दीपेन्द्र अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि एकै ओभरमा ६ छक्का प्रहार गर्ने पहिलो खेलाडी भए । उनी एकै ओभरमा छ छक्का प्रहार गर्ने तेस्रो अन्तराष्ट्रिय खेलाडी बनेका थिए । १० टिम सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ । नेपालको समूहमा मलेसिया, कतार, हङकङ र साउदी अरेबिया छन् ।
नेपालले चौथो खेल साउदी अरेबियासँग ५ वैशाखमा खेल्नेछ । समूहमा शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल ७ वैशाख र फाइनल ९ वैशाखमा हुनेछ ।