काठमाडौं ।
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका दुई नेताले अलग अलग दाबी पेश गरेका छन् । नाउपाका लक्ष्मणकिशोर चौधरीले कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा र कैलाश चौधरीले नेकपा एमाले, माओवादी केन्द्र, स्वतन्त्रसहितका सांसदको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् ।
लक्ष्मणकिशोरले नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरी र एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीको हस्ताक्षरसहित चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।
उनले आइतबार दिउँसो प्रदेश प्रमुख नजीर मियाँलाई कांग्रेसका १८, नागरिक उन्मुक्ति पार्टीका ६ र एकीकृत समाजवादीका ४ जनाको समर्थन रहेको दाबीसहित मुख्यमन्त्री नियुक्त गर्न पत्र दिएका हुन् ।
कैलाशले नाउपाका ६ जना, एमालेका १० जना र नेकपा माओवादी केन्द्रका सभामुखसहित ११ जना र स्वतन्त्र सांसद तारा जोशीको समेत समर्थनमा दावी पेश गरेका हुन् । कैलाश रञ्जिता श्रेष्ठ चौधरी पक्षका हुन् भने लक्ष्मणकिशोर रेशम चौधरी पक्षका हुन् ।
५३ सदस्यीय प्रदेशसभामा बझाङबाट निर्वाचित पृथ्वी सिंहको निधन भएको छ भने नागरिक उन्मुक्ति पार्टीले आफ्ना सांसद इन्दिरा गिरीलाई कारबाही गर्ने निर्णय गरेको छ । त्यसैले प्रदेशसभामा बहुमत सिद्ध गर्न २६ सांसदको समर्थन आवश्यक पर्छ ।
प्रदेश प्रमुख मियाले भने नागरिक उन्मुक्ति पार्टीकी सांसद इन्दिरा गिरीलाई पार्टीले कारबाही गरेको जानकारीसहितको पत्र प्रदेशसभाबाट प्राप्त भएकाले आफूले कानुनी परामर्शपछि मात्र निर्णय लिने जवाफ दिएका छन् ।