सहकारी ठगीको छानबिन छल्न संसद अधिवेशन अन्त्य गरियो : सभापति देउवा

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय छानबिन समिति गठनको माग कांग्रेसको मात्र नभएर सहकारी पीडित लाखौं जनताको विषय रहेको बताएका छन् । अर्बौं बचत हिनामिनाको विषय कांग्रेस संसदीय दलको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

यस्तो गम्भीर विषयलाई संसदीय छानबिन समिति बनाई यथार्थ विषयवस्तु बाहिर ल्याउन गरिएको मागलाई छल्ने उद्देश्यले सरकारले संसद नै बन्द गर्ने निर्णय गरेको उनले आरोप लगाए । ‘हामीले उठाएको माग नेपाली कांग्रेसको पार्टीगत नभई लाखौँ सहकारी पीडितको अर्बौं बचत हिनामिनाको विषय हो ।’ उनले भने, ‘यस्तो गम्भीर विषयलाई संसदीय छानबिन समिति बनाई यथार्थ विषयवस्तु बाहिर ल्याउन माग गरिएकोमा यसलाई सरकारले छल्ने उद्देश्यले संसद नै बन्द गर्ने निर्णय गरेको छ ।’

उनले सरकार सहकारी पीडितको विपक्षमा उभिएको उल्लेख गरे । संसद अधिवेशन अन्त्यका लागि सफारिस गरेर सरकार सहकारी पीडितको विपक्षमा उभिएको प्रष्ट भएको उनको भनाई छ । ‘संसद् अधिवेशन अन्त्य गरेर सरकार सहकारी पीडितका पक्षमा नभएको, सुशासनको पक्ष नरहेको र गैरजिम्मेवारी रूपमा प्रस्तुत भएको पुष्टि हुन्छ,’ उनले भने ।

सहकारी पीडित र सुशासनको पक्षमा दृढतापूर्वक उभिएर आवाज उठाइरहन उनले सांसदहरूलाई निर्देशन समेत दिएका छन् ।

सरकारले आज राति १२ बजेदेखि सङ्घीय संसद्को दुवै सदनको अधिवेशन अन्त्य गर्न सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेको छ । कांग्रेसले उठाएका जनताका सवालबाट सरकार भाग्न अधिवेशन अन्त्य गर्ने बाटोमा लागेको उनको आरोप थियो ।

 

  • २ बैशाख २०८१, आईतवार १३:३५ प्रकाशित