एसीसी प्रिमियर कप

नेपालको लगातार दोस्रो जित, कतार ३२ रनले पराजित

केन्द्रभाग मिडिया

पोखरा ।
एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । आज भएको खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गरेको हो ।

नेपालले दिएको २ सय ११ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा ९ विकेट गुमाएर १ सय ७८ रनमात्र जोड्न सक्यो । ओमानका कप्तान मुहम्मद तानभीरले सबैभन्दा धेरै ६३ रन बनाए । नेपालका ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी, गुल्सन झाले समान २ विकेट लिए । यस्तै कुशल मल्ल र अबिनाश बोहराले समान १ विकेट लिए ।

यसअघि अल अमिरात क्रिकेट ग्राउन्डमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २ सय १० रन बनायो । नेपालका दीपेन्द्रसिंह ऐरीले २१ बलमा नट आउट ६४ रन बनाए ।

दीपेन्द्रले खेलको २० औँ ओभरमा ६ वटा छक्का प्रहार गरेका हुन् । यस्तै आसिफ शेखले ५२ र कुशल मल्लले ३५ रन बनाए । ओमानका हिमान्सु राथोड र मुसवार साहले सामान तीन विकेट लिए ।

यसअघि हिजो आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराएको थियो । अब नेपालले तेस्रो खेलमा पर्सि सोमवार हङकङसँग र वैशाख ४ गते बुधवार समूह चरणको अन्तिम खेलमा साउदी अरेबियासँग खेल्नेछ ।

टी-२० फर्म्याटमा भइरहेको प्रिमियर कप वैशाख ९ गतेसम्म चल्नेछ । एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन् ।

  • १ बैशाख २०८१, शनिबार १९:४६ प्रकाशित