पोखरा ।
पोखरा महानगरका प्रमुख धनराज आचार्यले फेवातालको मापदण्डको विषयमा सर्वोच्च अदालतको आदेश कार्यान्वयनका चरणमा रहेको बताएका छन् । विहीबार होटल संघ पोखराले आयोजना गरेको फेवा नववर्ष महोत्सवको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले जनताको सम्पत्ति माथिको अधिकारलाई हनन् हुन पनि नदिइने र सर्वोच्च अदालतको आदेश बमोजिम फेवातालको मापदण्ड पनि कार्यन्वयन गरिने प्रष्ट पारे ।
फेवा अतिक्रमण गर्ने कसैलाई छुट नभएको भन्दै उनले फेवाताल र यसको जलाधारको क्षेत्रको संरक्षण गर्नुपनि महानगर र सबै सरोकारवालाको दायित्व रहेको धारणा राखे । ‘फेवातालको सम्बन्धमा सम्मानित सर्वोच्च अदालतले दिएको आदेश अक्षरस पालना गर्छौं । त्यसका लागि प्राविधिकरुपमा काम पनि भइरहेको छ । राज्य नागरिक प्रति जिम्मेवार छ । व्यक्तिक अधिकार कुण्ठित गर्ने काम महानगरले गर्र्दैन । रामसारमा सूचीकृत ताल र यसको सिमसार क्षेत्र जोगाउने दायित्व महानगर र सरोकारवाला सबैको हो’ उनले भने ।
मेयर आचार्यले नीति कार्यक्रम र व्यवहारमै पर्यटकीय राजधानीलाई राजधानीकै रुपमा विकास गरिने दृढता प्रकट गरे । सिंगो गण्डकी प्रदेश नै पर्यटकीय हव भएको उल्ले गरेका उनले पोखरा हवको पनि केन्द्र रहेको धारणा राखे ।
संघ सरकार, प्रदेश सरकार र महानगरपालिका सबैले पर्यटकीय राजधानीलाई ध्यान दिँदै बजेट व्यवस्थापन गर्नेदेखि पूर्वाधार निर्माण गर्ने तर्फ लाग्ने उनको भनाई थियो । सबै नागरिकपनि पर्यटनमैत्री भएर अगाडि बढ्नुपर्ने आवश्यकता उनले औंल्याए ।
त्यका लागि काम समेत भइरहेको उनको दाबी छ । मापदण्ड कार्यान्वयनमा जानका लागि प्राविधिक रुपमा गर्नुपर्ने काम धेरै भएकाले समय लागेको उनले प्रष्टिकरण दिए ।
उनले फेवाताल मात्र नभएर यसका सिमसार क्षेत्र समेत बचाउनुपर्नेमा जोड दिए ।