काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांगेसले संसदमा उठाइरहेको संसदीय छानविन समितिको माग राजनीतक पूर्वाग्रहबाट प्रेरित रहेको बताएका छन् । बिहीबार बिहान विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानबिन समिति नबन्ने प्रष्ट्याए ।
संसदीय छानबिन समिति गठनको माग राखेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा अवरोध जारी राखेको बेला प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले कांग्रेसको माग राजनीतिक आग्रह पूर्वाग्रहबाट प्रेरित भएको भन्दै संसदीय छानबिन समिति नबन्ने बताए । ‘अहिले रवि लामिछानेलाई नै लिएर जसरी समितिको माग भएको छ, त्यो मिल्ने कुरा छैन,’ उनले भने, ‘समिति रविलाई भनेर बन्दैन, त्यो बन्न सक्दैन ।’
नेपाली कांग्रेसले यसलाई राजनीतिक इस्यु बनाएको आरोप लगाउँदै प्रधानमन्त्री प्रचण्डले यसको समाधान राजनीतिक समझदारीबाटै गर्नुपर्ने बताए । ‘रवि लामिछानेको केस अलग्गै र सहकारीको समस्या अलग गरेर छलफल गर्यो भने समाधान निस्किन पनि सक्छ भन्ने तिर गइराख्या छ र हाम्रो कोसिस पनि त्यतै छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।