काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले दक्षिण कोरिया भ्रमण गर्ने तयारी गरेका छन् । द्विदेशीय कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको उपलक्ष्यमा प्रधानमन्त्री दाहालले भ्रमण गर्ने भएका हुन् ।
भ्रमणको मितिसहित एजेन्डाबारे गृहकार्य सुरु भएको परराष्ट्र स्रोतले पुष्टि गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र दक्षिण कोरियाका तर्फबाट काठमाडौंस्थित दूतावासले भ्रमणको गृहकार्य गरिरहेको परराष्ट्रले जनाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा दाहालले शनिबार जुगल हिमालको आरोहण गर्न लागेको नेपाल–दक्षिण कोरिया संयुक्त टोलीलाई नेपालको झन्डा हस्तान्तरण कार्यक्रममा दक्षिण कोरिया भ्रमणबारे जानकारी दिए । दाहाललाई संयुक्त राष्ट्रसंघको अधिवेशन ७८ औं महासभाका दौरान न्युयोर्कमा दक्षिण कोरियाका राष्ट्रपति योन सुक योलले भ्रमणको निम्तो दिएका थिए ।
दाहालले भने, ‘राष्ट्रपतिजीले मलाई निम्ता पनि गर्नुभएको छ । सकेसम्म त्यो निमन्त्रणालाई स्विकारेर कोरिया जाने तयारी गर्न खोज्दै छौं ।’ सोहीअनुसार भ्रमणको तयारी भइरहेको प्रधानमन्त्री दाहालको सचिवालयका एक सदस्य पनि बताए ।
नेपाल र दक्षिण कोरियाबीच सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । नेपालबाट रोजगार अनुमति प्रणाली ९ईपीएस० मार्फत दक्षिण कोरियामा एक लाखभन्दा बढी नेपालीहरू गइसकेका छन् । ५० वर्षको दौत्य सम्बन्धका अवसरमा दक्षिण कोरियाली दूतावासले नेपालमा कार्यक्रमको सुरुआतसमेत गरिसकेको छ ।