पोखरामा उद्घोषण तालिम सम्पन्न

केन्द्रभाग मिडिया

पोखरा।

पोखरा ३० लेखनाथ त्रिकाङमा उद्घोषण तालिम सम्पन्न भएको छ । त्रिकाङ नमुना आमा समूहको आयोजना एव पोखरा वडा नम्बर ३० को सहयोगमा चैत १८ गतेदेखि सञ्चालित उद्घोषण तालिम ५ दिनको दिन हिजो (बिहीबार) सम्पन्न भएको हो ।

तालिमको समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ३० का अध्यक्ष दुर्गा प्रसाद सुबेदीले महिलाहरूको क्षमता विकासमा यस्ता खालका तालिम प्रभावकारी बन्ने बताए । महिलाहरूमा बोल्ने कलाको विकास गर्दै कुनै पनि क्षेत्रमा सफल रूपमा नेतृत्व लिन सक्ने तालिमले बनाउने बताए।

पोखरा महानगरपालिका कार्यपालिका सदस्य भीमकुमारी पुन गर्बुजाले वडाले महिलाको क्षेत्रमा निरन्तर काम गर्ने र महिलालाई विभिन्न प्रकारका सीप प्रदान गर्दै दक्ष र आत्मनिर्भर बनाउन लाग्ने बताए ।तालिममा सहभागीहरूको अनुभवको मन्तव्यबाट तालिम प्रभावकारी भएको सहजै अनुमान गर्न सकिएको बताए ।

समापन कार्यक्रममा बोल्दै वडा सद्स्य विनोद प्रसाद लामिछानेले महिलाको क्षमता विकास गर्ने उद्देश्यले उद्घोषण तालिम राखिएको र अर्को वर्ष तालिम लिएकाहरु विच वक्तित्व कला प्रतियोगिता आयोजना गर्ने योजना बनाउन लागेको जनाए ।

तालिमका प्रशिक्षक एवं पोखरा टेलिभिजनका समाचार प्रमुख घनश्याम पाण्डेले सिक्ने कुरा कहिल्यै पनि सिकेर नसकिने भन्दै तालिमले सहभागीहरूलाई सिक्नलाई उत्प्रेरणा थपेको बताए ।पाँच दिनमा आएकोको परिवर्तन सहभागीकै भित्र रहेको प्रतिभालाई आफूले बाहिर ल्याउने काम गरेको बताए ।

त्रिकाङ नमुना आमा समूहका अध्यक्ष विष्णु तिवारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन इन्दिरा सुवेदीले गरेका थिए । कार्यक्रममा सहभागी शिव भुजेल,सरला थापा, आशिका थापा भण्डारी र सम्झना बजगाईँ लगायतले बोलेका थिए । तालिममा आयोजक आमा समूह र बहुउद्देशीय आमा समूह गरी २८ जना महिलाहरूको सहभागिता रहेको थियो ।

उनीहरूलाई प्रमुख अतिथि वडा अध्यक्ष सुवेदी सहित आमा समूहका अध्यक्ष लगायत प्रमाण पत्र वितरण गरेका थिए ।

  • २३ चैत्र २०८०, शुक्रबार १५:२० प्रकाशित