त्रिशुलीमा ट्याक्सी खस्दा बेपत्ता भएका विवशको शव भेटियो

केन्द्रभाग मिडिया

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका विवस रोकाको शव चार दिनपछि फेला परेको छ।

बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको सिमलधाराबाट त्रिशुलीमा खस्दा बेपत्ता भएका गोरखा नगरपालिका ७ पौवाखेतका विवशको शव बुधबार बिहान आठ बजे त्रिशुली किनारमा फेला परेको प्रहरीले जनाएको छ।

उनको शव कालीखोलास्थित त्रिशुली किनारमा फेला परेको डिएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिए। सनाखत गरी शव गोरखातर्फ ल्याउँदै गरेको उनले बताए। उनको पोस्टमार्टम गरी अन्त्यष्टिका लागि आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ।

गत शुक्रबार काठमाडौँमा निधन भएका शंकर रोकाको दाहसंस्कार गरी फर्कने क्रममा सो ट्याक्सी दुर्घटना हुँदा एकै परिवारका पाँचजनाको ज्यान गएको थियो भने विवश बेपत्ता थिए।

  • २१ चैत्र २०८०, बुधबार १३:५२ प्रकाशित