आज दिउँसो राजिनामा दिँदै गण्डकीका मुख्यमन्त्री पाण्डे

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे आज राजीनामा दिने तयारीमा छन् । नेकपा माओवादी केन्द्रले २३ फागुनमा समर्थन फिर्ता लिएसंगै अल्पमतमा परेका पाण्डेले प्रदेश सभामा आफ्नो समर्थनमा बहुमत नपुग्ने भएपछि राजिनामा दिने तयारी गरेका हुन् ।

मुख्यमन्त्री पाण्डेले आज दिउँसो राजिनामा दिने मुख्यमन्त्रीको सचिवालय स्रोतले पुष्टि गरेको छ । ‘दिउँसो एक बजेदेखि ४ बजेसम्ममा मुख्यमन्त्री ज्युको राजिनामा आउँछ’ मुख्यमन्त्रीको सचिवालय स्रोतले भनेको छ । यसलाई मुख्यमन्त्रीका प्रेस संयोजक नरहरी सापकोटाले पनि पुष्टि गरेका छन् । ‘आज दिउँसो एक बजे वा चार बजेसम्ममा मुख्यमन्त्री ज्युले राजिनामा दिनुहुन्छ । त्यही अनुरुपको तयारीमा मुख्यमन्त्री ज्यु हुनुहुन्छ ’ उनले भने ।

मुख्यमन्त्री पाण्डेले २२ चैतको राति १२ बजेभित्र प्रदेश सभाबाट विश्वासको मत लिनका लागि हिजो संसदमा जानकारी गराउनुपर्नेमा त्यसो नगरी उनले राजिनामाको तयारी गरेका हुन् । विश्वासको मत लिनका लागि संसदमा जानकारी गराउनुपर्ने समयमा मुख्यमन्त्री पाण्डेले मंगलबार आफ्ना सांसदसंग सल्लाह गरेका थिए ।

तत्कालका लागि संसदमा बहुमत नपुग्ने निस्कर्षका साथ राजिनामा दिने तयारीमा मुख्यमन्त्री रहेको कांग्रेस गण्डकीको उपसभापति समेत रहेकी प्रदेशसभा सदस्य कल्पना तिवारीले जानकारी दिइन् । ‘राप्रपा अनिर्णित हुँदा तत्काल विश्वासको मत लिन सक्ने अवस्था रहेन । त्यसैले मुख्यमन्त्री ज्युले राजिनामा दिने नै निस्कर्ष निकाल्नु भएको हो’ उनले भनिन् ।

अहिले गण्डकी प्रदेश सभामा राप्रपाले सरकार बनाउन निर्णायक छ । दुई सदस्य रहेको राप्रपाले २७ चैतसम्म कुनै पनि राजनीतिक गठबन्धनमा सामेल नहुने अडान राख्दै आएको छ ।

  • २१ चैत्र २०८०, बुधबार ०८:५६ प्रकाशित