यथास्थितिमा क्रमभङ्ग जरुरी छ : विप्लव

केन्द्रभाग मिडिया

काठमाडौँ ।

समाजवादी मोर्चाका संयोजक नेक्रविक्रम चन्द विप्लवले यथास्थितिमा क्रमभङ्ग गर्न जरुरी भएको बताएका छन् । मंगलबार समाजवादी मोर्चाले काठमाडौँमा गरेको अन्तर्क्रियामा बोल्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र अग्रगामी र क्रान्तिकारीले ल्याएको व्यवस्था भए पनि जनताका यावत समस्या समाधान नभएको तर्क गरेका हुन् ।

उनले दलाल पुँजीवाद अन्त्य नभएसम्म जनताको अधिकार स्थापित हुन नसक्ने स्पष्ट पारे । अहिलेको व्यवस्थामा प्रधानमन्त्रीले चाहेर काम गर्न नसक्ने प्रणाली रहेकाले विद्यामान कानुन संशोधन गर्नुपर्ने उनले विचार राखे ।

‘देशमा संकटमात्र छैन । संकटभित्र सम्भावना पनि छ । संकटबाट सबै खालका समस्याको समाधान निकाल्न पनि सकिन्छ । अहिले दलाल पुँजीवादबिचको टकराब देखिएको छ । अहिलेको व्यवस्थामा प्रधानमन्त्रीले चाहेर काम गर्न नसक्ने प्रणाली रहेकाले विद्यामान कानुन संशोधन गर्नुपर्छ’, विप्लवले भने ।

साथै समाजवादी मोर्चाले अस्थिरता ल्याउँछ कि भन्ने कुरा सत्य नभएको भन्दै उनले नेपालको विशेषतामा आधारित समाजवाद स्थापना गर्न मोर्चा बनाइएको स्पष्ट पारे ।

चन्दले अहिलेका असन्तुष्टिहरूलाई नेपाली विशेषताको समाजवादबाट मात्रै समाधान गर्न सकिने बताए । उनले आजका सबै समस्याको समाधान नेपाली विशेषताको समाजवादबाट मात्रै सम्भव रहेको उल्लेख गरे ।

  • २० चैत्र २०८०, मंगलवार १४:५१ प्रकाशित