पोखरा ।
यही चैत २९ गतेदेखि सुरु हुने १९ औं फेवा नव वर्ष महोत्सव २०८१ को तयारी अन्तिम चरणमा पुगेको होटल संघ पोखराले जनाएको छ । आयोजक होटल संघ पोखरा, नेपालले आज(सोमबार) पत्रकार सम्मेलनको आयोजना गरि महोत्सवको तयारी अन्तिम चरणमा रहेको जानकारी दिएको हो ।
फेवा नव वर्ष महोत्सव चैत २९ गते देखि आगामी वैशाख १ गतेसम्म ड्यामसाइड चोक देखि खहरेचोकसम्मको सडकमा सञ्चालन हुने आयोजकले जनाएको छ । पोखरालाई पर्यटकीय राजधानी घोषणा पश्चात आयोजना हुन लागेको महोत्सवलाई विविध सांस्कृतिक कार्यक्रम सहित वृहत रुपमा आयोजना गरिने आयोजकले दाबी गरेको छ ।
तीन लाख पर्यटकले महोत्सवको अवलोकन गर्ने अपेक्षा आफुहरुको रहेको महोत्सव संयोजक एवं होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । अङग्रेजी नयाँ वर्षलाई जस्तै नेपाली नयाँ वर्षलाई पनि भव्य बनाउन महोत्सवको तयारीका लागि २१ वटा विभिन्न समिति र एरिया संयोजक गठन गरिएको अध्यक्ष सुवेदीले जानकारी दिए ।
‘पर्यटन संस्कृति र खाना’भन्ने नाराका साथ नेपाली मौलिक संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रबर्द्धन गर्ने मुख्य उद्धेश्यले आयोजना गर्न लागिएको हो
महोत्सवको अवसरमा संघ मातहतका होटलहरुको प्रकाशित दररेटमा २० प्रतिशत सम्म छुटको घोषणा यसअघि नै गरिसकेको छ । महोत्सवमा विविध सांस्कृतिक झाँकी, नृत्य र खानाका स्टल राखिने भएको छ ।
परम्परागत नेपाली खानाको प्रवर्द्धन, सांस्कृतिक झाँकीका कार्यक्रम,लोकदोहोरी र प्रख्यात कलाकारबाट पप कन्सर्ट, स्थानीय कलाकारद्वारा विभिन्न सांस्कृतिक नृत्य, हास्यव्यङ्गय प्रहशन र पर्यटक दौड प्रतियोगिता महोत्सवको मुख्य आर्कषणमा रहेको अध्यक्ष सुवेदीले बताए ।
थला परेको पर्यटनलाई पुरानै लयमा फर्काउँदै आन्तरिक एवं बाह्य पर्यटन प्रबर्द्धन गर्ने महोत्सवको उद्धेश्य रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख नविनल पोखरेल, होटल संघ कास्कीका निवर्तमान अध्यक्ष विकल तुलाचन र महासचिव राजेन्द्र ढकाल लगायतले महोत्सवको बारेमा बोलेका थिए ।
गोर्खा ब्रुअरीको मुख्य प्रायोजन रहेको महोत्सवलाई नेवा पोखरा महानगरपालिका र पर्यटन बोर्डले प्रबर्द्धन गरेको छ । त्यसै गरी महोत्सवको सह प्रायोजनमा अन्नपूर्ण केबलकार, इसेवा होटल, फोन पे रहेका छन भने प्रायोजकमा टोकला चिया, मिट्को फुड नेपाल, पोखरा अल्ट्रालाइट प्रा.लि.रहेका छन् । गण्डकी प्रदेश सरकार, पोखरा पर्यटन परिषद, र होटल संघ नेपालले महोत्सवलाई सघाउने भएको छ ।