काठमाडौं ।
उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चीन भ्रमण गर्न चाहने नेपालीहरूलाई निःशुल्क भिसा उपलब्ध गराइदिन चिनियाँ पक्षसँग आग्रह गरेका छन् । यो आग्रहमा चिनियाँ पक्षबाट सकारात्मक प्रतिक्रिया आएको मन्त्री श्रेष्ठले जानकारी दिए ।
चीनको सात दिने भ्रमण पूरा गरी सोमबार बिहान काठमाडौं फर्किएका मन्त्री श्रेष्ठले उक्त जानकारी दिएका हुन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकहरूलाई नेपालले सन् २०१६ देखि नै निःशुल्क भिसा उपलब्ध गराउँदै आएको छ । चीन भ्रमण गर्न चाहने नेपालीहरूलाई पनि चिनियाँ भिसा निःशुल्क उपलब्ध गराउन मैले अनुरोध गरेको छु । यसमा चिनियाँ पक्षले सकारात्मक प्रतिक्रिया दिएको छ ।’
चिनियाँ विदेशमन्त्रीको औपचारिक निमन्त्रणमा मन्त्री श्रेष्ठ चैत ११ गते चीन भ्रमणमा गएका थिए । भ्रमणको क्रममा उच्चस्तरीय भेटघाटसमेत गरेका थिए ।