काठमाडौँ ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस पुनः सरकारमा पुग्ने दाबी गरेका छन् । शुक्रबार संवाद यात्राका क्रममा कपिलवस्तुमा आयोजित कार्यक्रममा थापाले पार्टी फेरि सरकारमा पुग्ने बताए ।
‘भर्खर त गएको हो । एकडेढ हप्ता भयो,’ उनले भने, ‘फेरि आइहाल्छ । धेरै पनि छैन । केही समय पछि फेरि आउँछ । सरकारले त कांग्रेसलाई पछ्याइहाल्छ ।’
देशलाई सम्हालेर निराशाबाट बाहिर निकाल्न सक्ने कांग्रेस मात्रै भएको उनले बताए । एमाले, माओवादी, नयाँ दलसँग निराशाबाट देशलाई बाहिर निकाल्ने चरित्र नभएको महामन्त्री थापाले बताए ।
‘नेकपा एमालेसँग आन्दोलन गर्ने क्षमता छ । मधेसी पार्टीहरूसँग नागरिकलाई उद्वेलित बनाउने क्षमता छ । नयाँ पार्टीसँग हल्ला गर्ने क्षमता होला,’ उनले भने, ‘तर, मुलुकलाई निराशाबाट बाहिर निकाल्ने क्षमता र चरित्र भएको पार्टी कांग्रेस नै हो ।’
मुलुकलाई निराशाबाट बाहिर निकाल्नका लागि पहिला कांग्रेसभित्रको पनि निराशा चिर्नुपर्ने थापाको भनाइ छ । यस्तै आगामी चुनावअघि गठबन्धन नगर्ने महासमितिबाट पारित प्रस्ताव केन्द्रीय समिति बैठकबाट अनुमोदन हुने महामन्त्री थापाले बताए ।













