दुर्गा प्रसाईँलाई दिइएको हतियार अनुमतिबारे गृहले थाल्यो छानबिन

केन्द्रभाग मिडिया

काठमाडौँ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई दिइएको हतियार अनुमतिबारे गृह मन्त्रालयले छानबिन थालेको छ । जिल्ला प्रशासन कार्यालय झापाबाट जारी भएको ‘इजाजतपत्र’बारे छानबिन गर्न मन्त्रालयले विवरण माग गरेको छ ।

प्रसाईँका दुईजना व्यक्तिगत सुरक्षा गार्ड चैत ५ मा सर्वोच्च अदालत परिसरबाट जर्मन स्पोर्ट गन ‘जिएसजी–५’ सहित पक्राउ परेका थिए । त्यसबारे छानबिन गर्न मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनीलकुमार पोखरेलले आदेश गरेका हुन् ।

सर्वोच्चको आदेश अनुसार हतियार अनुमतिबारे छानबिन गर्न जिल्ला प्रशासन कार्यालयसँग विवरण माग गरिएको गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले जानकारी दिएका छन् । जर्मनमा बनेको स्वचालित हतियार जिएसजी–५ सहित प्रसाईँका सुरक्षा गार्ड दीपक खड्का र राज कुमार धिमाललाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरूको साथबाट १ सय राउण्ड गोली पनि बरामद गरिएको छ ।

  • १४ चैत्र २०८०, बुधबार १७:०० प्रकाशित