नेपालले दियो आयरल्यान्ड वुल्भ्सलाई १९९ रनको लक्ष्य

केन्द्रभाग मिडिया

पोखरा ।

दोस्रो टी-२० खेलमा नेपालले आयरल्यान्ड वुल्भ्सलाई १९९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा मंगलबार टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा १९८ रन जोडेको हो । नेपालका लागि गुल्सन झाले ३२ बलमा १ चौका र ४ छक्काको मद्यतमा सबैभन्दा धेरै ४६ रन जोडे ।

त्यसअघि ओपनरद्वय कुशल भुर्तेल १६ बलमा २ चौका र २ छक्काको मद्दतमा २५ रन र आसिफ शेख ९ बलमा १ चौका र १ छक्काको मद्दतमा ११ रन जोडेर आउट भए । अनिलकुमार साहले ११ बलमा २ चौका प्रहार गर्दै १२ रन जोडे ।

कप्तान रोहितकुमार पौडेलले २४ बलमा ५ चौका प्रहार गर्दै ३३ रन जोडे । आक्रामक ब्याटिङ गरेका कुशल मल्लले १३ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै ३४ रन बनाए । अन्तिम बलमा आउट भएका सन्दीप जोराले १० बलमा २१ रन बनाउँदा विवेक यादवले नटआउट रहँदै ७ रन जोडे ।

बलिङमा आयरल्यान्डका म्याथ्यु फोस्टरले ३ विकेट लिए। उनले ४ ओभरमा ४२ रन खर्चिए । बेन ह्वाइटले २ विकेट हात पारे ।

नेपालले आइसिसी टी-२० विश्वकपको तयारीका लागि आयरल्यान्डसँग खेलेको हो। यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले आयरल्यान्डलाई ६ विकेटले पराजित गरेको थियो ।

आयरल्यान्डसँग दोस्रो टी-२० खेलेपछि नेपाली टिम यसैसाता भारत जानेछ । कीर्तिपुरमा भने नेपालको ए टिम र आयरल्यान्ड वुल्भ्सबीच तीन टी-२० र तीन एकदिवसीय खेल हुनेछ।

  • १३ चैत्र २०८०, मंगलवार १४:५६ प्रकाशित