पोखरा ।
नेकपा एमाले कास्कीको ११ औं अधिवेशनको समय लम्बिएको छ । शनिबार सुरु भएर दुई दिन चल्ने बताइएको अधिवेशनमा आज (मंगलबार) बिहान मनोनयन दर्ता गरिँदैछ ।
मनोनयन दर्ताका लागि सोमबार साँझदेखि मनोनयन पत्र वितरण गरिएको र ६ सय ८० वटा फाराम वितरण भएको निर्वाचन समिति संयोजक भगवती पहारीले जानकारी दिइन् । उनका अनुसार अहिले बिहान साढे ७ देखि साढे ८ बजेसम्म मनोनयन दर्ताको तालिका छ ।
पहारीले साढे १ बजेदेखि मतदान सुरु हुने जानकारी दिइन् । ‘मतदानको लागि ५ घण्टा जति लाग्ला,’ उनले भनिन्, ‘सकेसम्म मंगलबार नै रिजल्ट निकाल्ने योजना छ ।’ कास्कीको नेतृत्व लिन दुई समूहले प्यानल नै बनाए उम्मेदवारी दिने देखिएको छ ।
एमाले केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी समिति सदस्य खगराज अधिकारीनिकटको छुट्टाछुट्टै प्यानल बन्ने देखिएको हो । यस्तै, स्वतन्त्र उम्मेदवारी दिनेहरु पनि अत्यधिक हुने अनुमान गरिएको छ ।
शनिबार पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा पार्टी महासचिव शंकर पोखरलले अधिवेशन उद्घाटन गरेका हुन् । अधिवेशनमा ९ सय ३५ प्रतिनिधिले भाग लिएका छन् ।














