काठमाडौँ ।
सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार उठाएरै छाड्ने बताएका छन् । त्यसका लागि उनले पार्टीमा छलफल र तयारी भइरहेको समेत बताएका छन् ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटवार्तामा अध्यक्ष नेपालले उपनिर्वाचनमा आफ्नो पार्टीबाट उम्मेदवार उठाएरै छाड्ने अडान राखेका हुन् ।
बालुवाटारमा तीन नेताबिचको छलफलमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले सत्ता गठबन्धनका कम्युनिस्ट घटकहरू मिलेर अघि बढ्न प्रस्ताव गरेका थिए ।
‘एमालेले इलाम र बझाङ दुवै ठाउँमा उम्मेदवार उठाइसकेको छ । ती दुवै ठाउँमा माओवादी र समाजवादी भन्दा एमालेकै राम्रो र जित्ने अवस्था पनि छ’, बालुवाटार बैठकमा ओलीले प्रचण्ड र नेपाललाई भनेका थिए । ओलीको भनाइ सुनेपछि प्रधानमन्त्री प्रचण्डले आफू सहमतिमै अघि बढ्न तयार रहेको बताएका थिए । माओवादीले अहिलेसम्म उम्मेदवार तय गरिसकेको छैन ।
ओली र प्रचण्डको कुरा सुनेपछि अध्यक्ष नेपालले नेपालले इलाममा एमाले उम्मेदवारलाई सहयोग गर्नुपरे बझाङमा आफ्नो पार्टीले उठाउने उम्मेदवारलाई सघाउन आग्रह गरेका थिए ।













