काठमाडौँ ।
नेपालले बिहीबार बहराइनसँगै उसैको घरेलु मैदानमा फिफा विश्वकपअन्तर्गत एसियाली क्षेत्रको दोस्रो चरणको छनोट खेल खेल्दै छ । विश्वकप छनोट खेल्न नेपाली टोली मलेसियाबाट बहराइन पुगिसकेको छ । खेल नेपाली समयअनुसार, राति १२ः४५ बजे सुरु हुनेछ ।
यसअघि नेपालले विश्वकप छनोटको तयारीका क्रममा मलेसियासँग अभ्यास खेल खेलेको थियो । उक्त खेलमा नेपाली टोली १–५ गोलले पराजित भएको थियो । दोस्रो चरणको विश्वकप छनोटमा नेपाल र बहराइनबिच दुई खेल खेलिने छ ।
एउटा खेल बहराइन र अर्को खेल नेपालको घरेलु मैदानमा खेलिनु पर्ने थियो । तर, दशरथ रङ्गशालाको अवस्था सन्तोषजनक नरहेको कारण देखाउँदै अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले दोस्रो खेल पनि बहराइनमै खेल्ने सहमति जनाएको हो । नेपाल र बहराइनबिचको दोस्रो खेल चैत १३ गते खेलिने छ ।
विश्व फुटबल महासङ्घ (फिफा) को पछिल्लो वरीयतामा नेपालभन्दा बहराइन निकै नै अगाडि छ । पछिल्लो वरीयतामा बहराइन ८२औँ स्थानमा आसीन छ । नेपाल भने पछिल्लो फिफा वरीयताको एक सय ७५औँ स्थानमा छ ।
विगतकै परम्परालाई निरन्तर दिँदै यसपटक पनि एन्फाले ठुलो सङ्ख्यामा खेल पदाधिकारी मलेसिया हुँदै बहराइन पुगेका छन् ।
उक्त खेलका लागि घोषित नेपाली टोलीमा गोलरक्षकका रूपमा किरण चेम्जोङ, विशाल सुनार र अभिषेक बराल रहेका छन् ।यसैगरी रक्षापङ्क्तिमा अभिषेक लिम्बु, अजय चौधरी, अनन्त तामाङ, छिरिङ लामा, सनिस श्रेष्ठ, सौभाग्य राई र सुमित श्रेष्ठ रहेका छन् ।
मध्यपँक्तिमा भरत खवास, विशाल बस्नेत, लकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहन कार्की र उत्सव राई रहेका छन् । अग्र पङ्क्तिमा अञ्जन विष्ट, दिनेश हेम्जन, जिलेस्पीजंग कार्की, हिसुब थपलिया, समिर तामाङ र सञ्जीव विष्ट छन् ।