सार्कको प्रतिस्थापन विमस्टेक हुन सक्दैन : परराष्ट्रमन्त्री श्रेष्ठ

केन्द्रभाग मिडिया

काठमाडौं ।

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले वहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक) सार्कको प्रतिस्थापन नभएको बताएका छन् ।

सोमबार संसदमा विमस्टेकको घोषणापत्र अनुमोदनका लागि प्रस्तुत गर्ने क्रममा परराष्ट्रमन्त्री श्रेष्ठले सार्क र विमस्टेकको आ-आफ्नो औचित्य रहेको बताए ।

‘सार्कको औचित्य र आवश्यक्ताका बारेमा नेपाल सरकारको स्पष्ट धारणा छ । सार्कको प्रतिस्र्थापन विमस्टेक हुनसक्दैन । यसरी स्वीकार गरिएको होइन’, परराष्ट्रमन्त्री श्रेष्ठले भने, ‘सार्कको महत्व आफ्नो ठाउँमा छ । सार्कलाई पुनः क्रियाशिल गर्न र शिखर सम्मेलन गर्न सरकार लागि पर्नेछ ।’

उनले विमस्टेकबाट लाभ लिनका लागि सरकारले निरन्तर प्रयास गर्ने भन्दै सातवटै सदस्य राष्ट्रले आ–आफ्नो ‘प्लान अफ एक्सन’ बनाइरहेको जानकारी दिए । ‘सबै सदस्य राष्ट्रले आफ्नो जिम्मेवारीमा परेका क्षेत्रमा काम गरिरहेका छन् ।

जसअन्तर्गत गत १७ र १८ जनवरीमा आतंकवादका विषयमा कामठाडौँमा बैठक बसेको र आगामी ३१ मार्चमा संस्कृतिका विषयमा बैठक आयोजना गरिएको जानकारी श्रेष्ठले दिए ।

उनले सार्कको हकमा पनि केही सकरात्मक संकेत देखिएका भन्दै शिखर सम्मेलनका लागि पनि प्रयास गर्ने बताए ।

  • ५ चैत्र २०८०, सोमबार १६:३६ प्रकाशित