महरा पक्राउ परेपछि गगन थापाले सरकारलाई दिए धन्यवाद

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्तासीन माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गरेको सरकारलाई धन्यवाद दिएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै महामन्त्री थापाले महरालाई पक्राउ गरेकोमा सरकारलाई धन्यवाद दिएका हुन् ।

‘केही समयअगाडि तत्कालीन प्रतिपक्षी नेकपा एमालेले जोडदार ढङ्गले उठायो । सुन तस्करी प्रकरणमा शक्तिशाली मान्छे संलग्न भएका छन् । त्यसैले प्रहरीको नियमित अनुसन्धानबाट उनीहरूमाथिको छानबिन सही टुङ्गोमा पुग्न सक्दैन,’ उनले भने, ‘शक्तिशालीलाई लुकाउने प्रपञ्च भएको रहेछ भन्ने तत्कालीन प्रतिपक्षको आशङ्का सही साबित भयो । आयोगले प्रतिवेदन बुझाएको छ । भर्खर कृष्णबहादुर महरा पक्राउ पर्नुभयो भन्ने हामीले सुन्यौँ । सरकारलाई धन्यवाद छ ।’

सुन छानबिन आयोगले किटान गरेको एउटा मान्छे पनि छुट्न नहुने भन्दै सरकारलाई आफूहरूको पूर्ण साथ रहने थापाले बताए ।

  • ५ चैत्र २०८०, सोमबार १४:१३ प्रकाशित