काठमाडौँ ।
नेकपा एमालेले आगामी ११ औँ महाधिवेशनसम्म १० लाख पार्टी सदस्य बनाउने योजना अघि सारेको छ ।
हाल साढे पाँच लाख हाराहारी पार्टी सदस्य रहेको जनाएको एमालेले अबको ३ वर्षमा साढे चार लाख पार्टी सदस्य सङ्ख्या बढाउने गरी सदस्यता वितरण र नवीकरण गर्न एमालेले पार्टी कमिटीहरूलाई निर्देशन दिएको छ ।
तर सदस्यता नवीकरण गर्दा कसैले एकमुष्ट शुल्क लेबी तिरिदिने, सदस्यहरूको सूचीमा हेराफेरी गर्ने लगायतका अनुचित तरिका गरेको पाइए कारबाही गर्ने चेतावनी समेत दिएको छ ।
त्यसका लागि एमालेले सातै प्रदेश र ७७ वटै जिल्लामा पार्टी सदस्यता नवीकरण, विस्तार र स्थानीय अधिवेशनहरू सुव्यवस्थित ढङ्गले समयमै गर्न परिपत्र जारी गरेको छ । महासचिव शङ्कर पोखरेलले हस्ताक्षर गरेर फागुन २८ गते सातै प्रदेश र जिल्ला कमिटीहरूलाई पठाएको परिपत्रमा फागुन–चैतमा गरिने नियमित सदस्यता नवीकरणबारे पार्टीपंक्ति अझै अभ्यस्त नभइसकेको भन्दै तोकिएको प्रक्रिया पुरा गरी तोकिएको समयभित्र सदस्यता नवीकरण गर्न र योग्यता पुगेकाहरूलाई नयाँ सदस्यता दिने प्रक्रिया अघि बढाउन भनिएको छ ।
साथै एमालेले आउँदो जेठ मसान्तभित्र सबै स्थानीय पार्टी कमिटीका अधिवेशनहरू सम्पन्न गर्न भनेको छ ।एमालेको परिपत्रमा सदस्यता नवीकरणबारे १९ बुँदे निर्देशन दिएको छ ।