रविमाथि प्रहार गरेर सरकार ढाल्ने चलखेलमा छ कांग्रेस : एमाले

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले नेपाली काँग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमाथि प्रहार गरेर वर्तमान सरकार ढाल्ने काममा लागेको आरोप लगाएका छन् । आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले काँग्रेसले गृहमन्त्रीलाई आक्रमण गरेपछि सरकार ढाल्न सकिन्छ भनेर अङ्क गणितका आधारमा प्रस्तुति देखाइरहेको आरोप लगाएका हुन् ।

बर्तौलाले भने, ‘ रवि लामिछाने गृहमन्त्रीको बारेमा उहाँ दोषी हो र राज्यबाट प्रमाणित हुनुभयो भने उहाँ स्वयंले भनिरहनुभएको छ की छानबिन सबै तहबाट होस् । यसलाई राजनीतिक ढङ्गबाट अहिले रास्वपाको नेतृत्व कर्तालाई गृहमन्त्रीलाई आक्रमण गर्नु भनेको यो सरकार ढाल्न सकिन्छ भनेर अङ्क गणितका आधारमा जसरी प्रस्तुति देखाइएको छ । रास्वपाको नेतृत्वलाई बदनाम गर्ने, टिक्न नसकेपछि यो सरकार ढाल्न सकिन्छ भन्ने ध्येयका साथ एक महिना भित्रमा सरकार ढाल्छौँ भनिरहनुभएको छ । अनुसन्धानले सबै किसिमको छानबिनबाट उहाँ दोषी हुँदा उहाँलाई कसैले जोगाउनुपर्छ भन्ने छैन । कोही प्रधानमन्त्री र गृहमन्त्री भयो भन्दैमा सारा अंग प्रभावित हुन्छ भन्ने सोच्नु हुँदैन ।’

उनले काँग्रेसले २८ दिनभित्र सरकार ढाल्छौँ भन्ने अभिव्यक्ति दिइरहेको उल्लेख गर्दै अनुसन्धानले दोषी ठहराएको खण्डमा दोषी कोहीलाई पनि उम्किन दिन नहुने बताए ।

  • ४ चैत्र २०८०, आईतवार १५:२० प्रकाशित