संकल्पसहित थालेका काम पूरा गर्न नयाँ समीकरण : प्रधानमन्त्री प्रचण्ड

केन्द्रभाग मिडिया

पोखरा ।

प्रधानमन्त्री प्रचण्डले अघिल्लो वर्ष आफैले उत्साहका साथ गरेको संकल्प र थालेका काम पूरा गर्न नयाँ समीकरण बनाएको बताएका छन् । पोखरामा शनिबार बाह्रखरी मिडियाद्वारा आयोजित ‘आमन्त्रण गल्फ प्रतियोगिता’ का विजयीहरूलाई पुरस्कार प्रदान गर्दै उनले यस्तो बताएका हुन् ।

वर्तमान सरकारले देशको हितमा सही कार्य गर्ने दाबी गर्दै उनले सुशासन, सामाजिक न्याय र सम्मृद्धि हासिल गर्ने सरकारको लक्ष्य भएको प्रष्ट्याएका छन् । ‘गतवर्ष महत्त्वपूर्ण उपलब्धीहरू प्राप्त भएका छन्,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘तर, मेरो संकल्प र हुट्हुटीअनुसार ती पर्याप्त छैनन् भन्ने बुझेर नै नयाँ गठबन्धनको निर्णयमा पुगेको छु । सरकार पुनर्गठनको प्रारम्भिक चरणमै केही महत्वपूर्ण कामहरू भएका छन्, यसले सरकारको उज्यालो भविष्यलाई नै संकेत गर्दछ ।’

प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रको सहभागितामा उद्यमशीलतालाई एकसाथ प्रोत्साहन गरिने बताए । उनले हजारौँ नयाँ स्टार्टअप र उद्यमशीलता सुरू गरिने उल्लेख गरे । ‘आत्मनिर्भरताको व्यवस्थित प्रयास हुनेछ,’ उनले भने, ‘सुस्त कर्जा प्रवाह, मध्मवर्गीय उपभोगमा आएको गिरावट र पुँजीगत खर्चको न्यूनता अन्त्य गर्न नीतिगत सुधार गरिनेछ ।’

सरकार पुनःगठनसँगै पुँजीबजारमा सकारात्मक परिवर्तन आएको उल्लेख गर्दैै प्रधानमनत्री प्रचण्डले वित्तीय अनुशासन, प्रशासनिक खर्चमा मितव्ययिता, उत्पादकत्व वृद्धि र राजस्व चुहावटमा स्थायी नियन्त्रणबाट राष्ट्रको आर्थिक जीवनलाई अझ बलियो बनाउने सरकारको अठोट रहेको बताए । ‘रोजगारी सिर्जना र आयात प्रतिस्थापन सरकारका प्राथमिकता हुनेछन्,’ उनले भने ‘पर्यटनमा अहिले देखिएको सुधारलाई कायम राख्दै पर्यटक संख्या कम्तिमा दोब्बर बनाउने लक्ष्य लिइनेछ ।’

  • ३ चैत्र २०८०, शनिबार १६:१८ प्रकाशित