देश बनाउन मिलौं भनेपछि नयाँ गठबन्धनमा सामेल भयौं : अध्यक्ष नेपाल

केन्द्रभाग मिडिया

फाइल तस्बिर

काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले देश बनाउने कुरामा कमसेकम मिलेर जाऔँ भन्ने भएपछि आफ्नो पार्टी नयाँ गठबन्धनमा सहभागी हुने निर्णय गरेको बताएका छन् । शनिबार एकीकृत समाजवादीे काभ्रेको जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

एमाले अध्यक्ष केपीशर्मा ओलीसंग विगत ५० वर्षदेखिको सम्बन्ध रहेको र माओवादी अध्यक्ष प्रचण्डसंग ४० वर्षदेखि सम्बन्ध रहेको अध्यक्ष नेपालले चर्चा गरे । देश बनाउन भनेर हिँडेपछि पुराना कुरा विर्सनुपर्ने पनि बताए । ‘आ–आफ्नो पार्टी बलियो बनाउने र मिलेर देश बनाऔं भनेर कम्युनिष्टले प्रस्ताव गरेपछि पुराना कुरा विर्सेर अगाडि बढेका हौं’ उनले भने ।

‘पुष्पकमल दाहाल प्रचण्डको पनि विशेष आग्रह थियो । उहाँसँग ४० वर्षदेखि सम्बन्धमा थियौं । केपी ओलीसँगको सम्बन्ध पनि हिजो आजको होइन । ५० वर्षको सम्बन्ध हुँदै आएको हो,’ नेपालले भने, ‘यी सबै हिसाबले पुराना कुरा बिर्सेर नयाँ ठाउँमा जान दिऔं। फेरि चुनावमा यो देश नजाओस भन्ने अवस्थालाई हेर्दै हामी नयाँ समीकरणलाई स्वीकारेर हिँडेका हौं ।’

नयाँ गठबन्धनले साझा कार्यक्रम, विचार र नीतिमा सहमति, कार्यक्रममा एक धारणा बनाउने भनेर दस्तावेज बनाएको पनि उनले बताए । देश चुनावमा नजाओस् भन्ने अवस्थालाई हेरेर समेत आफ्नो पार्टी नयाँ सत्ता समीकरणमा समावेश भएको भएको उनको प्रष्टिकरण थियो ।

नयाँ गठबन्धनले साझा कार्यक्रम, विचार र नीतिमा सहमति, कार्यक्रममा एक धारणा बनाउने भनेर दस्तावेज बनाएको पनि बताए ।

  • ३ चैत्र २०८०, शनिबार १५:४१ प्रकाशित