पोखराका विभिन्न ठाउँमा माग्न बसेका २५ जनाको उद्धार

केन्द्रभाग मिडिया

पोखरा ।
पोखराका विभिन्न ठाउँमा माग्न बसेका व्यक्तिहरुलाई उद्धार गरेर मानव सेवा आश्रम लगिएको छ । बिहीबार वडा प्रहरी कार्यालय बगर र पोखरा महानगर प्रहरीले ती व्यक्तिहरुलाई उद्धार गरेर मानव सेवा आश्रम पुर्याएको हो ।

विभिन्न स्थानहरुमा माग्दै हिड्ने २५ जना व्यक्तिहरुलाई उद्दार गरी ९ जना पुरुषलाई मानव सेवा आश्रम हेम्जा र ४ जना महिलालाई मानव सेवा आश्रम छोरेपाटन, ९ जना बालकहरुलाई अम्मरसिंह बाल हेल्प लाईन र ३ जना बालिकाहरुलाई आफन्तको  जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

भिक्षा माग्न कानुनले निषेध गरेको छ । पोखरालाई सडक मानव सहयोगापेक्षी मुक्त घोषणा गरिएको छ । यस्तो अवस्थामा पोखराको सडक, गल्ली, पार्क, सवारी बिसौनी स्थल, सरकारी कार्यालय वा कार्यालय परिसर, सार्वजनिक सवारी साधन र अन्य सवारी साधनमा पनि भिक्षा माग्न प्रहरीले नदिने  बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बाहनामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम वा ज्याला दिई भिक्षा माग्न लगाउने कार्यलाई रोक लगाइएको प्रहरीले जानकारी दिएको छ ।

बिरामी, बेवारिसे, अशक्त तथा सडक सहयोगापेक्षी मानवको यथोचित तथा मानवीय व्यवस्थापन गर्न प्रहरीले मानव सेवा आश्रमसँग सहकार्य गरी व्यवस्थापन गर्दै आएको कास्की प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक श्रवण कुमार विकले जानकारी दिए ।

*सच्याइएको

  • १ चैत्र २०८०, बिहीबार १९:०७ प्रकाशित