पोखरालाई भव्य समारोहका बीच ४ चैतमा पर्यटकीय राजधानी घोषणा गरिँदै

प्रधानमन्त्री प्रचण्डले घोषणा गर्ने, नेपाल स्थित चीन र भारतसहित विभिन्न देशका राजदुतहरुलाई निमन्त्रणा

गोविन्द सुवेदी

पोखरा ।

गण्डकी प्रदेशको राजधानी पोखरा ४ चैतबाट देशकै पर्यटकीय राजधानी बन्दै छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरको संयुक्त आयोजनामा हुने भव्य समारोहका बीच प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ ले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नेछन् ।

यसका लागि सबै तयारी भइरहेको गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिंह गुरुङले जानकारी दिए ।घोषणा मुल समारोह अगाडि आइतबार बिहान १०ः०० बजे बसुन्धरा पार्कबाट विभिन्न सांस्कृतिक झाँकीसहितको र्याली हुने छ ।

विहान ११ः०० बजे मुल समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सभापतित्व र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले स्वागत गर्नेछन् । भव्य समारोहका बीच प्रधानमन्त्री प्रचण्डले पोखरालाई औपचारिक रुपमा पर्यटकीय राजधानी घोषणा गर्नेछन् ।

महानगर प्रमुख आचार्यको नेतृत्वमा मुल समारोह समिति

कार्यक्रमलाई भव्यरुपमा मनाउन पोखरा महानगरका प्रमुख धनराज आचार्यको संयोजकत्वमा मुल समारोह समिति गठन भएको छ ।

समितिमा प्रदेश सरकारका प्रमुख सचिवसहित सबै सचिवहरु, पोखरासंग जोडिएका रुपा, मादी, माछापुच्छ्रे, अन्नपूर्ण, फेदीखोला, सुक्लागण्डकी, कुस्मा र मोदीका प्रमुखरअध्यक्ष, प्रदेशका प्रमुख सचिवसहित सबै सचिव, कास्कीका प्रमुख जिल्ला अधिकारी , सुरक्षा निकायका प्रमुखहरु, पोखरा पर्यटन परिषद्, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश र कास्की शाखा, पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ, होटल संघ पोखरा, नेपाल पर्यटन बोर्ड पोखरा, महानगरका सबै वडाअध्यक्ष, पर्यटकी संघसंस्थाका प्रमुख, कास्की स्थित सबै संघसंस्था सहभागी छन् ।

चीन र भारतसहित विभिन्न देशका राजदुतलाई आमन्त्रण

पर्यटकीय राजधानी घोषणा समारोहलाई भव्य बनाउन र यसको महत्वलाई अन्तर्राष्ट्रिय स्तरमा समेत बुझाउनका लागि नेपाल स्थित चीन र भारतका राजदुत र भिविन्न देशका नेपाल स्थित कुटनीतिक नियोगका प्रमुखलाई पोखरामा आमन्त्रण गरिएको छ । सबैलाई निमन्त्रणा पठाइएको पर्यटन मन्त्रालयका सचिव गुरुङले जानकारी दिए ।

पोखरा महानगरका प्रमुख धनराज आचार्यले पनि समारोहमा विभिन्न देशका राजदुतहरुको उपस्थिति रहने बताएका छन् । यसका साथै गण्डकी प्रदेशका सबै पालिकाहरुको सहभागिता रहने उनले विश्वास प्रकट गरे ।

पोखरा भनेको पोखरा महानगर मात्र नभएर समग्र गण्डकीलाई बुझ्नुपर्ने प्रमुख आचार्यको भनाई छ । ‘पोखरा भनेको पोखरा महानगर होइन नी !, यो भनेको नवलपुर पनि हो । यो भनेको मुस्ताङ पनि हो । यहाँको सबै भूभागले यसको अपनत्व लिनुपर्छ र पाउनुपर्छ,’ उनले भने, ‘यो गण्डकी प्रदेश अन्तर्गत रहेका पोखरा महानगरसहित ८५ वटै पालिकाको साझा कार्यक्रम हो ।’

 

  • १ चैत्र २०८०, बिहीबार १६:५८ प्रकाशित