काठमाडौं ।
नेपाली कांग्रेसले रवि लामिछानेमाथि सहकारी ठगीमा अनुसन्धान भइरहेको भन्दै उपप्रधान तथा गृहमन्त्री बनाएकोमा विरोध जनाएको छ ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै कांग्रेस सांसद बद्री पाण्डेले अनुसन्धान घेरामा रहेका व्यक्तिलाई नै गृहमन्त्री बनाएको भन्दै प्रधानमन्त्री प्रचण्डमाथि असन्तुष्टि जनाएका हुन् ।
गत महिना तत्कालिन प्रतिपक्षी दल एमालेले ६ देखि १८ फागुनसम्म संसद्मा उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने उनले बताए ।
‘अनुसन्धानको कमान्ड सम्हाल्नुपर्ने गृहमन्त्री नै अनुसन्धानको दायरामा हुनुले गम्भीर नैतिक प्रश्न खडा भएको छ। अर्कोतिर अनुसन्धान प्रभावित हुने आशंका बढाएको छ ।’ उनले भने ।
उनले थपे, ‘सहकारीको आदर्श विपरीत गर्न नहुने संस्थामा लगानी, दिन नहुने शीर्षकमा कर्जा, शेयर सदस्य नै नभएको व्यक्तिले पाएको ऋणलगायत सघन आरोपले घेरिएका गृहमन्त्रीले यस्तै प्रकृतिको दोषीलाई कसरी कानूनी कारबाहीको दायरामा ल्याउनुहुन्छ ।’
उनले सरकार छोड्नु परेकोमा आफूहरुको कुनै गुनासो नरहेको समेत उनले सुनाए । कांग्रेसले गुण र दोषको आधारमा सरकारको समर्थन र आलोचना गर्ने असर परम्पराको सुरुवात गर्न चाहिएको पनि पाण्डेले बताए । ‘यो आकस्मिक समयको आवाजलाई सत्ताबाट बहिर्गमनको संकिर्ण चस्माबाट नहेर्न आग्रह गर्दछु,’ उनले भने ।