काठमाडौँ ।
नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीमाथि कटाक्ष गरेका छन् । प्रधानमन्त्रीले संसद्मा राखेको विश्वासको प्रस्तावको विपक्षमा बोल्दै सांसद शर्माले नयाँ राजनीतिक दलहरू परिपक्व हुँदै गएको बताएका हुन् ।
पुराना नेताहरूलाई अब प्रधानमन्त्री बनाउनुहुन्न भन्नेहरू तिनै नेताहरूलाई प्रधानमन्त्री बनाउन कुदिरहेको शर्माले बताए । ‘नयाँ दल बनाएर बडो उत्साहका साथ आएका साथीहरूको उत्साहलाई सम्मान गर्नुपर्छ । नयाँ दललाई कल्पनाको आकाशबाट वास्तविकताको जमिनमा ल्याउनुभएको छ, व्यवहारिक बनाउन खोजेको अवस्था छ । उत्साह हुन्छ, हुनुपर्छ तर त्यो व्यवहारिक जमिनमा आउनुपर्छ,’ उनले भने ।
नयाँ राजनीतिक दलहरू कल्पनाको आकाशबाट वास्तविकताको धरातलमा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूमिका खेलेको उनको भनाइ थियो । शर्माले भने, ‘चुनावमा जाँदा नो नट अगेन, कुनै यी देखिएका बूढा अनुहार प्रधानमन्त्री बन्नुहुन्न अनि कहिले बालुवाटार कहिले खुमलटार, अहिले त अगेन एन्ड अगेन, सरकारमा फेरि पनि फेरि पनि ।’












