आज विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

केन्द्रभाग मिडिया

फाइल तस्बिर

काठमाडौं ।
प्रधानमन्त्री प्रचण्डले आज (बुधबार) विश्वासको मत लिँदैछन् । प्रतिनिधि सभाको बैठक बुधबार बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यतालिका छ ।

प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेको हुन् । उक्त धारामा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नुपर्ने प्रावधान छ ।

गत २१ फागुनमा प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन तोडेपछि नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादीसहितका दलको नयाँ समीकरण बनेको थियो । त्यही दिन नेपाली कांग्रेस सरकारबाट बाहिरिएर समर्थनसमेत फिर्ता लिएको थियो । त्यसैले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

यस्तो छ समिकरण

प्रतिनिधि सभामा एमालेको ७७, माओवादी केन्द्रको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २१, जनता समाजवादी पार्टीको १२, एकीकृत समाजवादीका १० सांसद छन् ।

प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न १३८ मत आवश्यक पर्छ । अहिले सत्ता गठबन्धनसँग प्रतिनिधिसभा सदस्य संख्या १५२ छ ।

८८ सिट रहेको नेपाली कांग्रेस, १४ सिट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी, ६ सिट रहेको जनमत पार्टी, ४ सिट रहेको लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेको यो तेस्रो पटक हो ।

  • ३० फाल्गुन २०८०, बुधबार ०७:४० प्रकाशित