कैलाली ।
दार्चुला प्रहरीको हिरासतमा रहेका एक थुनुवा भागेपछि उनलाई पक्राउ गर्न पछ्याएका एक प्रहरीको भीरबाट लडेर ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार जिप्रका दार्चुलामा कार्यरत प्रहरी जवान सुवान चौधरीको ज्यान गएको हो ।
हिरासतमा रहेका महाकाली नगरपालिका-१ का २३ वर्षीय उमेश कुवँरलाई अस्पताल लैजाने क्रममा हतकडीसहित भागेपछि उनलाई लखेट्दै गरेका चौधरीको लडेर टाउकोमा गम्भीर चोट लागेको र अस्पताल लैजाने क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहले बताए ।
हतकडीसहित भागेका कुवरलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । उनी यसअघि माघ ७ गते दुईजना प्रहरीमाथि चक्कु प्रहार गरी फरार भएका थिए । फरार रहेका उनलाई प्रहरीले फागुन २० गते महाकाली नगरपालिका-४ पुलघाट क्षेत्रबाट पक्राउ गरेको थियो ।













