मैत्रीपूर्ण खेलमा हङकङसंग नेपाल ७३ रनले पराजित

केन्द्रभाग मिडिया

पोखरा ।

हङकङसंग भएको फ्रेण्डसिप कप टी–२० आईमा नेपाल ७३ रनले पराजित भएको छ । हङकङले घरेलु मैदानमा जितका लागि नेपाललाई २ सय १३ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

सो लक्ष्य पछ्याएको नेपालले १७ औँ ओभरमा १ सय ३९ रनको क्षतिमा सबै विकेट गुमायो । नेपालका लागि बिनोद भण्डारीले २२ बलमा ३ छक्का र ४ चौका प्रहार गर्दै सर्वाधिक ४२ रन जोडे । ओपनर कुशल भुर्तेल ४ बलमा २ रन बनाएर आउट भए ।

पहिले व्याटिङ गरेको हङकङले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर २१२ रन बनाएको थियो । अन्तिम ओभरमा डेब्यु गरेका खेलाडी आकाश चन्दले दुई विकेट हुन् । उनले ११० रन बनाएका बाबर हायातलाई र यासिम मुर्ताजालाई आउट गरेका हुन् ।

बाबरले ४९ बलमा १३ छक्का र तीन चौका प्रहार गरेका थिए । यासिम शून्यमै आउट भएका थिए । त्यसअघि राशिद खानले १४औं ओभरमा जेमी एत्किन्सनको विकेट लिएका हुन् । खानले उनलाई एलबिडब्ल्युमा आउट गरेका हुन् । एत्किन्सन शून्यमा आउट भए ।

प्रतिश जिसीले १३ औं ओभरमा अन्शी राथलाई आउट गरेका थिए। ३९ रन बनाएका उनलाई गुलशन झाले क्याच आउट गरेका थिए ।

त्यसअघि पाँचौं ओभरमा डेब्यु गरेका आकाश चन्दले मार्टिन कोइत्जीको विकेट लिएका थिए । उनी ३१ रन बनाएर आउट भए । आरिफ शेखले तेस्रो ओभरमा निजाकत खानलाई शून्य रनमा आउट गरेका थिए । त्रिकोणात्मक सिरिज खेल्न नेपाली टोली बिहीबार हङकङ गएको थियो।

नेपाल, हङकङ र पपुवा न्युगिनीबीच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी(२० आई सिरिज सुरू हुँदैछ। त्यसअघि नेपालले आज हङकङसित एउटा मैत्रीपूर्ण खेल खेलेको हो ।

त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो खेल फागुन २७ गते हङकङसँग खेल्ने छ । नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग खेल्नेछ। फागुन ३० गते त्रिकोणात्मक सिरिजको फाइनल खेल हुनेछ ।

  • २६ फाल्गुन २०८०, शनिबार १४:५२ प्रकाशित