काठमाडौँ ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव दोस्रो पटक स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त हुने भएका छन् । अध्यक्ष यादवकै नेतृत्वमा जसपाले सरकारमा जाने निर्णय गरिसकेको छ ।
जसपाबाट उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री, नवलकिशोर साह वनमन्त्री र दीपक कार्कीलाई राज्यमन्त्री बनाउने निर्णय पार्टीले गरेको छ ।
यसअघि माओवादी–एमाले एकीकृत भएर बनेको तत्कालीन नेकपाको सरकार हुँदा २०७५ जेठ १८ गते जसपाका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्य मन्त्री नियुक्त भएका थिए । करिब डेढ वर्षपछि उनलाई स्वास्थ्यबाट हटाएर कानुन मन्त्री बनाइएको थियो ।
२०७६ कात्तिकमा उनी स्वास्थ्य मन्त्रालयको कार्यक्रममा भारत गएका थिए । त्यही बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सोध्दै नसोधी उपेन्द्र यादवलाई कानुन मन्त्रालयमा सारेका थिए । त्यतिबेला जसपाबाटै स्वास्थ्य राज्यमन्त्री भएका डा.सुरेन्द्र यादवलाई ओलीले बर्खास्त गरेका थिए । त्यतिबेला डा.सुरेन्द्र यादव उपचाररत थिए ।
कानुन मन्त्रालयमा सरुवा गरे पनि धेरै समयसम्म उपेन्द्र यादवले कार्यभार सम्हालेका थिएनन् । २०७६ मंसिर ९ गते उनी कानुन मन्त्रालयमा पदबहालीका लागि पुगेका थिए । त्यतिबेला उनले भनेका थिए, ‘स्वास्थ्यभन्दा कानुनमा संघीयता र संविधानका लागि राम्रो काम गर्न सक्ने बुझेर नै प्रधानमन्त्रीले मलाई कानुन मन्त्रालय दिनु भएको हो ।’
तर ठिक एक महिनापछि अर्थात् पुस ९ गते यादवले कानुन मन्त्रीबाट राजीनामा दिँदै सरकारबाट समर्थन समेत फिर्ता लिएका थिए ।













