काठमाडौँ ।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री प्रचण्डले राजनीतिक बेइमानी गरेको बताएका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले गठबन्धनमा भएका मूल्य, मान्यता र सहमतिलाई लत्याएर एकतर्फी रूपमा अविश्वसनीय ढंगले गठबन्धन तोडेको बताए ।
उनले जनताका बीचमा बोलेका बाचाहरू, नेपाली कांग्रेसलाई मात्र बेवास्ता नभई, संघीय लोकतान्त्रिक गणतन्त्रलाई मात्र कुठाराघात नभई जनमतको पनि घोर अपमान गरेको कांंग्रेसको ठहर रहेको बताए ।
उनले भने– ‘यसरी नेपाली जनताको जनमतको अपमान गर्दै कपोलकथित कथाहरु, कपोलकल्पित कारणहरू, सानातिना मुद्दाहरू उचालेर आफ्नो जिम्मेवारीबाट भाग्ने, गठबन्धनलाई भत्काउने र जुन अविश्वसनीय काम गरियो, त्यसलाई हामीले कठोरतापूर्वक, निर्ममतापूर्वक भन्नै पर्यो यो राजनीतिक बेइमानी हो ।’
प्रमुख सचेतक लेखकले कांग्रेस संसदीय दलको बैठकमा प्रधानमन्त्रीले गरेको काम राजनीतिक बेइमानी ठहर गरेको सुनाए ।













