प्रधानमन्त्रीमा आलोपालो,गृह मन्त्रालय कसले लिने भन्ने छलफल सुरु भएको छैन : शंकर पोखरेल

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले गृह मन्त्रालय कसले लिने भन्ने विषय छलफलका रूपमा विषय प्रवेश नै नभएको दाबी गरेका छन् ।

एमाले, माओवादी, रास्वपा र जसपा सम्मिलित चार दलको नयाँ गठबन्धनमार्फत मन्त्रिमण्डल पुनर्गठनको गृहकार्य भइरहेका बेला गृह मन्त्रालय कसले लिने भन्ने चासो बढिरहेको छ । कतिपयले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र नेकपा एमालेबिच गृहमा विवाद भएको भनेर अड्कलबाजी गरिरहेका बेला महासचिव पोखरेलले मन्त्रालय बाँडफाँडमा विषय प्रवेश नै नभएको दाबी गरेका हुन् ।

‘अहिले मन्त्रालय बाँडफाँडमा विषय प्रवेश भैसकेको छैन’, महासचिव पोखरेलले भने,‘फलानाले गृह माग्यो, तिलानाले यो माग्यो भनेर बाहिर आएका प्रचार र दाबी दुवै झुटा हुन् ।’

महासचिव पोखरेलले शक्ति बाँडफाँड अघि कुन कुन पार्टी सरकारमा सामेल गर्ने भनेर नेताहरूबिच आन्तरिक छलफल भइरहेको छ । सरकारमा सहभागी दलको टुङ्गो लागेपछि बल्ल मन्त्रालय बाँडफाँडको विषय प्रवेश गर्छ । शक्ति बाँडफाँडका लागि चार दलमा बनेको कार्यदलका सदस्य समेत रहेका नेता पोखरेलले अहिलेसम्म चार दलबाहेक सरकारमा सहभागी हुन चाहने दलहरूको मनस्थिति बुझ्ने काम मात्र भएको बताए ।

नेता पोखरेलले प्रधानमन्त्रीका हकमा पनि लिखित सहमति नभएको बताए । उनले अहिले प्रचण्डलाई नै निरन्तरता दिने त्यसपछिको दुई वर्ष एमालेले लिने मौखिक सहमति भएको बताए ।

  • २२ फाल्गुन २०८०, मंगलवार १५:०७ प्रकाशित