चितवन घटना

शालिनको पोस्टमार्टम रिपोर्ट : मृत्युको कारण सु–साइड, बलात्कार पुष्टि भएन

केन्द्रभाग मिडिया

काठमाडौँ ।

चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शंकास्पद रूपमा मृत फेला परेकी शालिन पोखरेलको पोस्टमार्टम रिपोर्ट आएको छ । त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरूले आइतबार चितवन प्रहरीलाई शव परीक्षण रिपोर्ट पठाएका हुन् ।

शालिनलाई बलात्कार गरेको शव परीक्षणबाट नदेखिएको रिपोर्टमा उल्लेख गरिएको जनाइएको छ । १४ वर्षीया पोखरेलको कन्याजाली नच्यातिएको पोष्टमार्टमा जनाइएको छ।

कक्षा ८ मा अध्ययनरत छात्रा शालिन फागुन १२ मा होस्टेलमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । उनको मृत्युको कारणबारे पोस्टमार्टम रिपोर्टमा लेखिएको छ, ‘ह्याङ्गिङ ।’

त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरू डा। गोपाल चौधरी र डा। युगेन डोल्मा वालुङसहिका ५ जना फरेन्सिक विशेषज्ञहरूले शालिनको शव परीक्षण गरेका हुन् । पीडित परिवारले उनको शरीरमा चोटपटक रहेको दाबी गर्दै आएका छन् । तर, पोस्टमार्टम रिपोर्ट अनुसार शरीरमा ठुलो चोटपटक देखिएको छैन ।

घटना अनुसन्धानका लागि प्रहरीले स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा रत्ननगर नगरपालिका–१० बस्ने ६० वर्षीय बालहरी देवकोटा, ४० वर्षीय किरण बहादुर अधिकारी र ४८ वर्षका कमल शर्मा पौडेल छन् । उनीहरू विरुद्ध ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी श्रीराम भण्डारीले बताएका छन् ।

घटनास्थलमा शालिनले छाडेको सुसाइड नोट भेटिएको यसअघि नै बताइएको छ । सुसाइड नोटमा नोटमा उनले लेखेकी छन्, ‘मलाई सबैले माया गर्नु है ।’ अनुसन्धानमा संलग्न एक जना अधिकृतका अनुसार नोटमा उनले थप लेखेकी छन्–‘सरी एभ्रिबडी, सरी ममी ड्याड ।’

गोरखाको अजिरकोट गाउँपालिका–५ मुच्चोक घर भएकी शालिन पछिल्लो समय चितवनको रत्ननगर नगरपालिका–१५ स्थित माधवपुरमा बस्थिन् ।

शालिन दुई वर्षदेखि सो होस्टलमा बसेर पढ्थिन् ।

  • २० फाल्गुन २०८०, आईतवार १५:०० प्रकाशित