चितवन ।
चितवनको भरतपुरमा बजेट अभावले निर्माण अलपत्र बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि टेण्डर आह्वान भएको छ ।
महानगरपालिकाका उपनिर्देशक जगन्नाथ अर्यालले ३० दिनको म्याद राखेर एक अर्ब १० करोडको ठेक्का आह्वान गरिएको जानकारी दिए ।उनले रंगशालालाई महानगरले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै यसलाई तोकिएको मितिभन्दा अगाडि नै पूरा गर्ने अर्यालले बताए ।
महानरपालिकाका वरिष्ठ इन्जिनियर सन्तोष आचार्यले थप १० हजार क्षमताको प्याराफिटसहित मैदानलगायतका भौतिक पूर्वाधार निर्माणका लागि ३० महिनाभित्र काम गरिसक्ने गरी टेण्डर निकालिएको बताए ।
सुरुमा रंगशाला निर्माण थालेको धुर्मस सुन्तली फाण्डेशनले ५ हजार बस्ने प्याराफिट तयार गरिसकेको छ । वरिष्ठ इन्जिनियर आचार्यका अनुसार मैदानसहित ५ वटा पिच, मैदानमा ड्रेनऐजसहित पछिल्लो प्रविधि अपनाएर मैदान निर्माण, २ वटा ३ र३ तलाको टावर बनाइने छ ।
एउटामा भीआईपी र खेलाडी रहनेछन् भने अर्कोमा मिडिया, अम्पायर र कर्पोरेट बक्सहरु हुनेछन् ।यस्तैं, गेट, कम्पाउण्डवाल लगायतका थप पूर्वाधार पनि यही भित्र बन्ने आचार्यले जानकारी दिए ।३० महिना ठेक्काको म्याद तोकिए पनि सोभन्दा अगाडि नै रंगशालाको काम सक्ने गरी महानगरले सहजीकरण गर्ने वरिष्ठ इन्जिनियर आचार्यले बताए ।
यसअघि रंगशाला सम्बन्धी नै कामकाज गरेको ५८ करोडभन्दा बढी टर्न ओभर गरेको अनुभवी ठेकेदार कम्पनी हुनुपर्ने मापदण्डमा राखिएको छ ।
महानगरपालिका प्रमुख रेनु दाहालले रंगशालाको निर्माण महानगरको गौरवको परियोजना भएको बताइन् । उनले ठेक्का आह्वानसँगै रंगशाला निर्माण सम्पन्न गर्ने आफ्नो संकल्प अब पूरा हुने बताइन् ।