आगलागीका कारण रोल्पामा एक वृद्धाको ज्यान गयो

केन्द्रभाग मिडिया

रोल्पा ।

रोल्पाको माडी गाउँपालिका–५ भावाङमा घरमा आगलागी हुँदा जलेर एक वृद्धाको ज्यान गएको छ । आगलागीमा परेर ७५ वर्षीया हरिकला घर्तीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भावाङ कचरिकोटस्थित वृद्धाको घरमा मंगलबार अपराह्न ४ः४५ बजे अचानक आगलागी भएको थियो । घरमा पशु चौपाया नभएको र आगलागी भएपछि स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए ।

तर वृद्धाको शरीर जलेका कारण उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रामनारायण गुप्ताले जानकारी दिए ।

प्रहरीका अनुसार घरमा हरिकलासँगै उनका माइला छोरा मात्रै बस्दै आएका थिए । तर आगलागीका बेला छोरा घरमा थिएनन् । आगलागीको कारण भने खुलेको छैन ।

  • १६ फाल्गुन २०८०, बुधबार ०८:४७ प्रकाशित